काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादीबीच छिटै सहकार्य र एकता हुने बताएका छन्। नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समितिको बैठकलाई आज विहान सम्बोधन गर्दै प्रचण्डले भने, ‘एकता विभाजनको श्रृङ्खला पार गरेर यहाँ आइपुगेका छौं।
माओवादी आन्दोलनभित्र पनि विभाजनको श्रृङ्खला र एकताको नयाँ प्रक्रिया हुँदै करिब करिब कस्तो ठाउँमा आइपुगेका छौं,’ अध्यक्ष प्रचण्डले सम्बोधनको क्रममा भने, ‘सबै पूर्व माओवादीहरु एक ठाउँमा आउने वातावरण बनेको छ। फेरि विभाजनलाई निशेध गरेर एकताले ठाउँ लिँदैछ। छिटै कुरो टुंगोमा पुग्दै छ।’ एकताको वातावरण बनेर छिट्टै टुंगोमा पुग्ने अवस्था सिर्जना भएको प्रचण्डले बताए।
‘यो परिवर्तनलाई संस्थागत गर्दै यसमा टेक्दै अझै अघि बढ्ने संघर्षमा हामी छौं’ उनले भने। अध्यक्ष प्रचण्डले अहिलेको परिवर्तनको एउटा प्रमुख हिस्सेदार कर्मचारीहरु पनि भएकाले कर्मचारीहरुको हितका लागि पार्टीले आवश्यक भूमिका खेल्ने बताए । कर्मचारी भित्र माओवादीको संगठन विस्तार गर्न र पार्टी र कर्मचारीबीचको सम्बन्ध सुदृढ गर्न लाग्ने बताए ।
समाजवाद तर्फको यात्राका लागि पनि कर्मचारी र पार्टीको सम्बन्ध बलियो हुनुपरेका उल्लेख गर्दै प्रचण्डले पार्टी केन्द्रीय समितिमा कर्मचारीहरुको प्रतिनिधित्व गराउने आश्वासन दिए ।










