काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि छुट्याएको बजेटप्रति असन्तुष्टि जनाएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवन शिलान्यास गर्दै मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि छुट्याएका २६ करोड बजेट पर्याप्त नभएको बताए ।
विमानस्थल निर्माणका लागि एक खर्ब २० अर्बको अनुमान गरिएको उनको भनाइ छ ।
केही मन्त्रीले निजगढ एयरपोर्ट बन्छ भन्दै प्रश्न गरेको भन्दै उनले भने, ‘आज कतिपय मन्त्री साथीहरुले भन्ने गरेका छन्, निजगढ एयरपोर्ट बन्छ भनेको छन्, के दाँत फुकालेर गर्ने? दाँत फुकालेर एयरपोर्ट बन्छ?’
‘बजेट दिने बेलामा २६ करोड रुपैयाँ दिने, एक खर्ब २० अर्बको लागत अनुमान छ । एयरपोर्ट बन्छ भन्नेलाई भन्न चाहन्छु, यस्ता कुरा नगरौँ आजबाट। मधेसी जनता जहिल्यै रैती हुनुपर्ने अवस्था देख्दैछु मैले। मधेसलाई राजधानीसँग जोड्न नचाहने? मधेसमाथि विभिन्न ठाउँबाट हस्तक्षेप भएको छ।’, उनले भने ।










