
काठमाडौं-
सत्तापक्षीय गठबन्धनका मूल घटक नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि दुई दलबीच मात्रै चुनावी गठबन्धनको गृहकार्य थालेका छन् ।
खासगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमक्ष यस्तो प्रस्ताव गरेका छन् । गठबन्धनमा आवद्ध अन्य दलहरु नेकपा (एकीकृत समाजवादी),
जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चा नेपाल कांग्रेस र माओवादी केन्द्रसँग चिढिएसँगै देउवा–दाहाल दुई दलबीचमात्रै गठबन्धनको प्रयासमा जुटेका हुन् ।पछिल्लो समय एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरुले स्थानीय तहको गठबन्धनमा,
कांग्रेस र माओवादी केन्द्रबीच मात्रै चुनावी तालमेल राम्रोसँग भएको र आफूहरुलाई बेवास्ता गरिएको आरोप लगाएका छन् । यही बीचमा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले त वाम गठबन्धन गर्नुपर्नेमा जोड दिन थालेका छन् ।
उनले एमालेसँगको एकताको संकेत गरेका छन् । उता, उपेन्द्र यादव पनि कांग्रेस र माओवादी केन्द्रको भूमिकालाई लिएर संशकित छन् । यसैबीच आगामी निर्वाचनमा कसरी जाने भन्नेबारे रणनीति गर्न प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाल आजभोलि दिनहुँजसो आन्तरिक छलफलमा जुट्ने गरेका छन् ।
स्रोतकाअनुसार दुई दलबीच मात्रै चुनावी गठबन्धन गर्नेगरि देउवा–दाहालले तयारी थालेका छन् ।दाहालले त प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा सिट बाँडफाँडबारे पनि छलफल थालेका छन् ।
उनले देउवासमक्ष संघ र प्रदेश दुवै सदनमा ६०/४० सिट संख्याको प्रस्ताव राखेका छन् । कांग्रेसले ६० प्रतिशत लिने र माओवादीले ४० प्रतिशत लिनेगरि समझदारी गर्न दाहालले प्रस्ताव गरेको स्रोतको दाबी छ ।
सभापति देउवा दाहालको प्रस्तावमा सकारात्मक सुनिए पनि उनले यसबारेमा पार्टीभित्र छलफल गरेर मात्रै निधोमा पुग्ने वचन दिएका छन् ।यसअिघ प्रत्यक्षतर्फ १६५ सिटमा कांग्रेसले १०० सिट राख्ने र बाँकी ६५ सिटमा गठबन्धनमा आवद्ध दलहरु माओवादी केन्द्र,
एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच बाँडफाँड गर्नेगरि छलफल चलेको थियो । अहिले गठबन्धनमा सबै विकल्पमा खुल्ला छलफल हुनुपर्ने पक्षमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल रहेका छन् ।पाँच दलीय गठबन्धन कायम नरहे कांग्रेस र माओवादी केन्द्रमात्रै मिलेर चुनावमा जाने ,
अवस्था भयो र ६०/४० भागबण्डा हुँदा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १६५ सिटमा कांग्रेसले ९९ सिट लिने र माओवादीले ६६ सिट पाउने देखिन्छ । तर, यो विषय अहिले छलफलको विषयमात्रै भएको र यसमा कुनै समझदारी नभएको दाहालनिकट स्रोतको दाबी छ ।
यो पनि : बजेट आत्मनिर्भर अर्थतन्त्रमा केन्द्रित छः मेटमणि चौधरी
काठमाडौं। सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तोषजनक रहेको टिप्पणी गरेका छन्। सांसद चौधरीले बजेटले नेपाली समाजको सबै क्षेत्रलाई समेटेर ल्याएकाले यो धेरै महत्त्वपूर्ण रहेको दाबी समेत गरे।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रस्तुत बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै उनले बजेट सरकारको नीति तथा कार्यक्रम अनुसार नै आएको पनि बताए। ‘बजेट सन्तोषजनक छ।
नेपाली समाजको कम्पोजिशनलाई हेरेर बजेट ल्याएकाले म माननीय अर्थमन्त्रीलाई धन्यवाद दिन चाहन्छु,’ सांसद चौधरीले भने, ‘बजेट सरकारको नीति तथा कार्यक्रम अनुसार नै अघि बढेको छ। र, समग्रमा बजेटले उत्पादनमा, स्थिरता र समावेशितामा जोड दिएको मैले अनुभूति गरेको छु। त्यसैले पनि यो बजेट धेरै महत्त्वपूर्ण छ।’
सांसद चौधरीले बजेटमा पूर्वाधार विकास र पुँजी निर्माण गरेर मुलुकलाई समृद्ध बनाउने कुरा पनि समावेश गरिएको बताए। उनले उत्पादन वृद्धि गर्ने र आत्मनिर्भर अर्थतन्त्र बनाउने विषयमा प्राथमिकता दिएको बताए।बजेटले रोजगारी सिर्जना गर्ने, गरिबीको अन्त्य गर्ने,
स्रोत तथा साधनहरूको सही परिचालन र व्यवस्थापन गर्नेजस्ता विषयहरू समेटिएको उनको भनाई छ।उनले भने, ‘बजेटले कृषि क्षेत्रको रूपान्तरण गर्ने कुरालाई धेरै प्राथमिकतामा राखेको छ। र, सरकारी र निजी क्षेत्रको सहकार्यमा उत्पादन गर्ने कुरा समावेश गरिएको छ।
रोजगारी सृजना र गरिबी निवारणको कुरालाई पनि बजेटमा धेरै महत्त्वका साथ उठाइएको छ।यति मात्रै नभई मानव संसाधनको विकास गर्ने कुरा, पूर्वाधार विकास र पुँजी निर्माण गर्ने कुरा, जलविद्युत उत्पादन, प्रसारण लाइनको विस्तार र ग्रामीण विद्युतीकरणमा जोड दिने कुरा बजेटमा उल्लेख गरिएको छ। बजेटले नेपाली समाजको सबै क्षेत्रलाई समेटेको छ।’










