
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभाको निर्वाचनमा कास्की क्षेत्र नं ३ बाट उठ्ने तयारी गरेको बुझिएको छ।
सत्तारुढ दल नेपाली कांग्रेससँग गठबन्धन बनाएर अघि बढ्दा चितवन भन्दा कास्कीमा सहज हुने देखिएपछि प्रचण्डले सो तयारी थालेको गोप्य स्रोतले जानकारी दियो। स्रोत भन्छ, ‘चितवनबाटै चुनाव लड्ने हो भने प्रचण्ड विरोधी शक्ति अहिलेदेखि नै हराउने तयारीमा लाग्छ। फेरी कांग्रेसबाट बागी उठे हार्ने सम्भावना प्रबल हुन्छ। त्यसैले उहाँले आफ्नो पुर्खौली थलो ढिकुरपोखरी अर्थात् कास्की-३बाट नै सहज हुने देखिन्छ। छोरा प्रकाशको ससुराली पनि हेम्जामा नै रहेको छ। उक्त क्षेत्र पनि कास्की-३ नै हो। सहज जित हुन्छ, आफ्नै ठाउँबाट भन्ने होला। तर त्यस किसिमको तयारी छ।’
यसअघिको प्रतिनिधिसभा निर्वाचनमा एमाले-माओवादी गठबन्धनको तर्फबाट एमाले नेता जगत विश्वकर्माले जितेका थिए। विश्वकर्माले हालका नेपाली कांग्रेस प्रदेश सभापति शुक्रराज शर्मालाई पराजित गरेका थिए। अहिले शर्मा नै कांग्रेसको प्रदेश सभापति रहेकोले कांग्रेसबाट स्पष्ट सहयोग हुने बुझेर पनि यो तयारी गरिएको हुन सक्ने बताइएको छ।
प्रचण्डको जन्म तत्कालिन कास्कीको ढिकुरपोखरी गाविस वडा नं २ लेवाडेमा भएको थियो। सत्तारुढ दलहरुले आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी छलफल अघि बढाएका छन्। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता निर्वाचन गर्ने गरी प्रस्ताव आएको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।










