
काठमाडौँ। नेकपा एमालेका महासचिव विष्णु पौडेलले आफूहरुले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको खुलाएका छन्। पौडेलले नेपाली कांग्रेसलाई प्रचण्ड-माधवको धम्काउने खेलमा नफस्न आग्रह गर्दै प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका हुन्।
पौडेलले भने- एमालेले प्रचण्ड-माधवलाई प्रधानमन्त्री अफर गर्ने त परै जाओस्, सोच्न पनि सक्दैन। केपी ओलीको नेतृत्वमा सरकार बनाउने उहाँहरुको प्रस्ताव त हामीले अस्वीकार गरेका हौं भने अहिले एमालेले उहाँहरुलाई प्रधानमन्त्री वा वाम गठबन्धनको प्रस्ताव गर्ने सम्भावना नै छैन।
एमालेलाई देखाएर कांग्रेस तर्साउन खोज्ने खेल प्रचण्ड-माधवले खेल्न खोजेको भन्दै त्यसमा नफस्न पनि कांग्रेसलाई सुझाव दिएका छन्। उनले भने, ‘एमाले देखाएर कांग्रेससँग बार्गेनिङ गर्ने चालबाजीमात्र हो । हामी प्रचण्डलाई वा माधवलाई त्यस्तो अफर गर्ने गल्ती गर्दैनौं।’
केही दिन देखि प्रचण्ड-माधवले कांग्रेसलाई थर्काईरहेका छन्। उनीहरुले आफूहरुलाई एमालेबाट प्रधानमन्त्री बन्ने प्रस्ताव आएको भन्दै सार्वजनिक रुपमा भाषण गरिरहेका छन्। भने, कांग्रेसलाई दम्भ देखाए भस्म पारिदिने चेतावनी दिइरहेका छन्।
एमालेका एक पदाधिकारीका अनुसार कांग्रेसले चाहे एमालेले प्रचण्ड-माधवलाई प्रधानमन्त्री प्रस्ताव नगर्ने लिखित कागज पनि गर्न सक्ने बताए। ‘कांग्रेसले हामीसँग संवाद गरे प्रचण्ड-माधवलाई प्रधानमन्त्री प्रस्ताव नगर्ने कुराको लिखित पनि दिन सक्छौं,’ ती नेताले भने।










