काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली र प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापती शेरबहादुर देउवासँग भएको भेटको तस्बिर सार्वजनिक गर्दै एक अपिल जारी गरेका छन् ।
आफ्नो लक्ष्य विशाल र पवित्र रहेको भन्दै अन्यथा नबुझिदिन उनले अपिल गरेका छन् । काठमाण्डौँको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाब समेट्न र सहकार्यका लागि पहल गर्न धेरै भन्दा धेरै व्यक्तित्वसँग भेटघाट गरिएको भन्दै उनले ओली र देउवा सँग पनि त्यसैको निरन्तरता स्वरुप भेटेको प्रष्टिकरण दिएका छन् ।
निर्वाचन अघि देखिनै यस्ता भेटघाटहरु हुने गरेको भन्दै बालेनले धेरै पछि सम्म पनि यो क्रम जारी रहेने बताएका छन् । समय अनुकुलताका कारणले कोहि सँग छिटो र कोहि सँग ढिलो भेट भएको भन्दै उनले अरु हिसाबमा नबुझिदिन अनुरोध पनि गरेका छन् ।
आफ्नो सामाजिक संजालमा देउवा र ओलीसँगको तस्बिर सहित बालेनले यस्तो लेखेका छन् हाम्रो लक्ष्यहरु विशाल र पवित्र छन् । आममान्छेको जीवनमा सकारात्मक परिवर्तन ल्याउन विशेष र बृहत सोचको आवश्यकता छ । यसका लागि सबैसँग सहकार्य अनिवार्य छ ।
राजनैतिकरुपमा हामीलाई यो अभियानमा केहि सजिलो पनि छ । किनकि स्वतन्त्र हुनुको अर्थ केवल चुनावमा उम्मेदवारी दिदा मात्रै रहदैन । स्वतन्त्र हुनुको अर्थ कुनै पनि पार्टी वा समुह वा नेताप्रति निरपेक्ष रहनु पनि हुन्छ । सबैसँग सम्मानजनक निकटताको अभ्यास गर्नुमा पनि हुन्छ ।
काठमाण्डौँको उन्नति, समृद्धि र सकारात्मक परिवर्तनका लागि हामीले छलफल गर्न, सुझाब समेट्न र सहकार्यका लागि पहल गर्न धेरै भन्दा धेरै व्यक्तित्वसँग भेटघाट गर्ने गरेका छौँ ।
यो सिलसिला उम्मेदवारी घोषणा गर्नु भन्दा पहिलेदेखि सुरु भएर निकै पछिसम्म पनि रहिरहने छ । समय अनुकुलताका कारण कसैसँग अघि वा पछि भेट हुन सक्छ । यसलाई अन्यथा नबुझिदिन अपिल गर्दछौँ ।
यसैक्रममा केहि अघि हामीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थियौँस आज सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छौँ । भेटघाटका क्रममा उहाँहरुले दिनु भएको प्रेरणाले हामीलाई थप उर्जावान बनाएको छ ।