काठमाडौं- स्थानीय तह निर्वाचन सम्पन्न भएलगत्तै सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच अनौपचारिक भेटवार्ता भएको छ ।
उनीहरूबीच भेटवार्ता हुनु पहिले नै निर्वाचन मत परिणाम अद्यावधिक हुनेक्रम जारी थियो । यद्यपि एमाले र जसपाको पक्षमा भने परिणाम सन्तोषजनक आउन सकेको थिएन र आएन पनि ।
त्यसपछि असन्तुष्ट एमाले अध्यक्ष ओली र जसपा अध्यक्ष यादवबीच जेठ ११ गते एक्कासी भेटवार्ता भयो । भेटवार्ता भने औपचारिक नभई अनौपचारिक थियो । किनकि दुवै जनाले आपसमा भेट गर्नु पहिले पार्टीसँग कुनै छलफल नै गरेका थिएनन् ।
अध्यक्षद्वयको भेटले सत्ता गठबन्धनमा सामान्य हलचल मच्चिए पनि भूकम्प भने गएन । उनीहरूको भेटवार्ता पश्चात् खासमा के संवाद भएको हो, वास्तविकता बाहिर आउन भने सकेको छैन । तथापि उपेन्द्र यादव सत्ता गठबन्धनबाट बाहिरिने र एमालेसँग तालमेल गर्ने हल्ला भने नचलेको होइन ।
पूर्वमन्त्री तथा एमाले नेता महेश बस्नेत भन्छन्, ‘अध्यक्ष कमरेड ओली र यादवबीच भेटवार्ता हुनु नौलो विषय होइन, दलका शीर्ष नेताले आपसमा भेट गर्नु गाह्रो कुरा पनि होइन । उहाँहरूको भेट पश्चात् एमाले र जसपाबीच गठबन्धन गर्ने भन्ने कुरा सत्य होइन । राजनीतिक एजेन्डामा छलफल नै भएको छैन । तर, भविस्यमा के हुन्छ फिक्स भन्न सकिँदैन ।’
सत्तासाझेदार दलका शीर्ष नेताले प्रमुख प्रतिपक्ष दलको नेतालाई भेट गर्नुमा शंकाको दृष्टिले हेरिएको नेताहरू बताउँछन् । सत्तासाझेदार दल तथा नेकपा (माओवादी केन्द्र)का नेता हरिबोल गजुरेलका अनुसार, ‘नेताहरूले आपसमा भेट गर्नुलाई आश्यर्चको रूपमा नहेरिए पनि सत्ता गठबन्धनमा रहेर प्रतिपक्षी दलको नेतासँग भेट्नु उचित होइन । यसको समीक्षा हुन्छ ।’
तर, हिजो (सोमबार) प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा आयोजित सत्ता गठबन्धनको बैठकमा यादव सहभागी थिए । उनी सहभागी भएको बैठकले जिल्ला समन्वय समिति (जिसस) र गठन गर्न बाँकी रहेका गाउँ र नगर कार्यपालिका सदस्य निर्वाचनमा तालमेल गर्न प्रदेशहरूलाई निर्देशन दिइएको छ ।
कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ले गठबन्धनलाई अझ मजबुत बनाउन चाहेको कतिपयले अथ्र्याएका छन् । सत्तारूढ पाँचदलीय गठबन्धको बैठकले कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनबीच सहमति गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।
सत्तारूढ पाँचदलीय गठबन्धनको हिजो बालुवाटारमा आयोजित बैठकले बाँकी रहेका पालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पाँच दलीय गठबन्धनको बीचमा सहमति गरेर अगाडि बढ्ने निर्णय गरेको बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकले ७७ वटा जिल्ला समन्वय समितिमा पनि गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ–आफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।
निर्देशन दिने यो निर्णयलाई कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले गठबन्धनलाई अझ मजबुत बनाउन चाहेको कतिपयले अथ्र्याएका छन् । देउवानिकट कांग्रेस नेता प्रदीप पौडेल गठबन्धन दलहरू आगामी प्रदेश र संघको चुनावमा पनि तालमेल गरेर अगाडि बढ्ने बताउँछन् ।
पौडेल थप्छन्, ‘एमालेले गठबन्ध फुटाउन खोजेको र फुटाउने प्रयास जारी राख्नुलाई अस्वभाविक मान्नु हुँदैन । तर त्यो सम्भव छैन । स्थानीय तहको निर्वाचनमा अधिकांश बाहेक केही पालिकामा भने जस्तो परिणाम नआए पनि गठबन्धन समग्रमा सफल भएको छ । यसको निरन्तरता प्रदेश र संघसम्म रहन्छ ।’
त्यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा भन्छन्, ‘स्थानीय निर्वाचनले एमाले नराम्ररी थला परेको छ । त्यो उसकै कमजोरी हो । ओलीजी हुँदा खादाको दुईतिहाई महुमतको सरकारमा उपद्रो मच्चाउने, दुई–दुई पटक संसद् विघटन गर्ने अनि जनताले त्यसको जवाफ यस पटकको चुनावमार्फत दिएका हुन् । यसमा अन्यथा मान्नुपर्ने केही छैन । ओलीजीले रिलाइज गर्नुपर्छ ।’
जसपा अध्यक्ष उपेन्द्र र एमाले अध्यक्ष ओलीबीचको भेटवार्ताबारे महामन्त्री शर्मा भन्छन्, ‘उपेन्द्रजीले साँच्चिकै एमालेसँग सहकार्य गर्न खोज्नु भएको हो भने त्यो उहाँको कुरा हो । त्यसमा हामीले भन्नुपर्ने केही छैन । तर, उहाँ गठबन्धनमै रहँदा फाइदा हुन्छ । अन्यथा घाटा जसपालाई नै हुने न हो ।’
त्यस्तै माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले एमाले र जसपाको सहकार्य तत्काल सम्भव नभएको बताउँछन् । उनका अनुसार आगामी प्रदेश र संघको निर्वाचनसम्मै सत्ता गठबन्धनको चुनावी तालमेल पनि हुन्छ । संविधान, संघीय लोकतन्त्रिक गणतन्त्रको उपलब्धि रक्षाका लागि गठबन्धन अपरिहार्य छ । यसर्थ गठबन्धनबाट उपेन्द्रजी बाहिरिनु हुन्छ जस्तो लाग्दैन ।
तथापि उपेन्द्रको असन्तुष्टिका कारण विराटनगर महानगरपालिकाको उपप्रमुख पदमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छोरा अमरेन्द्र यादव पराजित भएका छन् ।
अर्को कारण, मधेस प्रदेशको जनकपुर उपमहानगरपालिकामा पनि उनको पार्टीका उम्मेदवार लालकिशोर साहले पराजय भोग्नु परेको छ । उपेन्द्र स्थानीय तहको परिणामलाई लिएर असन्तुष्ट भएका बेला एमाले अध्यक्ष ओलीसँग भेट्नुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
उता एमाले अध्यक्ष ओलीले असार १७ गतेसम्म गठबन्धन टुट्ने मिति नै घोषणा गरेका छन् । उनी यसो पनि भन्छन्, ‘एमालेले चाहेमा एक चुट्कीको भरमा गठबन्धन फुट्छ । गठबन्धन र पार्टीभित्रैको अन्तरघातका कारण २०७४ को स्थानीय निर्वाचनमा पहिलो बनेको पार्टी यसपटक दोस्रो बनेको ओली स्वयंको तर्क छ ।’










