
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालिन शाही सेनाबाट विद्रोहगरी जनसेना बनेका झलककुमार भगतसँग भेट गरेका छन् । सेनाबाट विद्रोह गरेर जनसेना बनेका उनलाई शान्ति सम्झौताको मर्म विपरित नेपाली सेनाले कोर्ट मार्सल गरेको थियो । सेनाले गरेको कोर्ट मार्सलाई सर्वोच्च अदालतले समेत सदर गरिदिएपछि भगत कैदी जीवन विताईरहेका थिए ।
गणतन्त्र दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भगतसहित ८ सय १८ जनाको बाँकी कैद मिनाहा गरेकी थिईन् । भगत गणतन्त्र दिवसका दिन हिजो आईतबार जेलमुक्त भएर आज विहान अध्यक्ष प्रचण्डलाई भेट्न खुमल्टार पुगेको मोरङका सांसद अमनलाल मोदीले जानकारी दिए । को हुन् झलक भगत ? मोरङ जिल्ला हाल ग्रामथान गाउँपालिका निवासी झलकुमार भगत तत्कालीन शाही नेपाली सेना भोजपुर जिल्लाको विष्णुदल गणमा कार्यरत थिए । झलकुमार २०६२ साल साउन ८ गते हतियारसहित तत्कालीन शाही नेपाली सेनाबाट विद्रोह गरी जनमुक्ति सेनामा प्रवेश गरेका थिए ।
उनी तत्कालीन माओवादीको जनमुक्ति सेनामा एक थान इन्साससहित ५ थान म्यागजिन, एक थान गलिलसहित ५ थान म्यागजिन, चार थान ग्रिनेट, ९ सय राउन्ड गोलीसहित भोजपुरको घोरेटारमा आयोजित एक कार्यक्रमबीच प्रवेश गरेका थिए । झलकुमारलाई चुनावविरोधी गतिविधिमा लागेको भन्दै २०७४ मङ्सिर ८ गते मोरङमा रहेको आफ्नै घरबाट प्रहरीले गिरफ्तार गरेको थियो । पछि प्रहरीले सेनालाई जिम्मा लगाएको थियो । जनयुद्धताका तत्कालिन माओवादीले सेना र प्रहरीलाई विद्रोह गरी जनयुद्धमा लाग्न आह्वान गरेको थियो । सरकार र तत्कालिन माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताले यस्ता सवै विषयको एकमुष्ट समाधान पनि गरेको थियो । तर झलकलाई नेपाली सेनाले सैनिक ऐन अन्तर्गत प्रतिकुल आचरण गरेको अभियोगमा मुद्दा चलाएको थियो ।
सैनिक अदालतले हतियार चोरी गरी विध्वंशको कार्यमा प्रयोग गरेको भन्दै उनलाई सर्वश्वसहित जन्मकैदको फैसला गरेकोमा सर्वोच्च अदालतले पनि त्यसलाई सदर गरिदियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जसले जनयुद्धको नेतृत्व गरेका थिए, उनी लगायतका नेताहरु देशको प्रधानमन्त्री, जनसेनाका कमाण्डर नन्दबहादुर पुन उपराष्ट्रपति लगायतका राज्यका उच्च ओहोदामा पुग्ने तर सामान्य सिपाहीले जेलको चिसो छिँडी कुर्नुपर्ने भन्ने विषय सार्वजनिक बहसमा समेत आएको हो ।
माओवादीले यस विषयलाई सार्वजनिक बहसको विषय बनाएको थियो । माओवादीको आठौं महाधिवेशनमार्फत समसमायिक प्रस्ताव पारित गर्दै बन्दी रिहाइको अपिलसमेत गरेको थियो । ‘नेपाली जनताको बलिदानीपूर्ण संघर्षका रूपमा सञ्चालित महान् जनयुद्धमा भागलिएका मोरङको झलक भगत, गोरखाका विक्रम गुरुङ र कालिकोटका सिंहबहादुर शाह लगायत पूर्व जनमुक्ति सेनाका सदस्यहरू माथि जनयुद्धकालीन मुद्दाका आधारमा बन्दी बनाइएको छ’ प्रस्तावमा अगाडि भनिएको छ, ‘यो महाधिवेशन उहाँहरूमाथि लगाइएका मुद्दा खारेज गर्न र थुनामा रहेका व्यक्तिहरूलाई अविलम्ब रिहा गर्न जोडदार माग गर्दछ ।’
अध्यक्ष प्रचण्डले भने भगत परिवारको रहनसहनका लागि बेला बेला खर्च पठाउने गरेका थिए । २०७७ मा अध्यक्ष प्रचण्डले भगत परिवारका लागि पठाएका ५० हजार रुपैंया सांसद अमनलाल मोदीले हस्तान्तरण गरेका थिए । माओवादीका मोरङकै सांसद अमनलाल मोदीले यस विषयमा संघीय संसदमा समेत पटक पटक प्रश्न उठाएका थिए ।
भगत लगायतलाई छुटाउन अहोरात्र खटिएका सांसद मोदीको पहल, माओवादी अध्यक्ष प्रचण्डको दबाव र सरकारको सकारात्मक निर्णयका कारण जनयुद्धका जनसेना जेलमुक्त भएका हुन् ।










