काठमाडौं । देशभरका पालिकाको नतिजामा एमाले दोस्रो स्थानमा रहेको छ । देशभरका ६ वटा महानगरपालिकामा भने प्रमुख पद जित्न नसक्दा यस अघि जितेका पनि एमालेले गुमाएको छ । तर, चारवटा महानगरपालिकामा एमालेले उपप्रमुख पद भने जितेको छ । एमालेले यसपालि काठमाडौं, ललितपुर, पोखरा र विराटनगर महानगरपालिकाको उपमेयर जितेको छ।
२०७४ को निर्वाचनमा कांग्रेस–एमालेले २–२ वटा महानगरको प्रमुख जितेका थिए । माओवादी र जसपाले १–१ महानगर जित हासिल गरेका थिए। ६ वटा महानगरमध्ये नेपाली कांग्रेसले विराटनगर र ललितपुर महानगरपालिका जितेको छ । दुवै स्थानमा उपमेयर भने एमालेले जितेको छ । यस अघि पनि यी दुई महानगर कांग्रेसले जितेको थियो । यसअघि एमालेले जितेको पोखरामा यसपालि नेकपा एकीकृत समाजवादीले हात पारेको छ। भरतपुरमा माओवादी केन्द्रले जितेको छ । यस अघि पनि माओवादीले नै जितेको थियो ।
पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठवन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य निर्वाचित भए । उनले एमालेका कृष्ण थापालाई हराए । भरतपुरमा माओवादी केन्द्रकी रेणु दाहाल विजयी भइन्। उनले एमालेका विजय सुवेदीलाई हराइन्। वीगन्जमा जसपाका उम्मेदवार राजेशमान सिंहले फराकिलो मतान्तरले एमालेका विजय सरावगीलाई हराए।
विराटनगरमा कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन् । उनले एमालेका सागर थापालाई हराए। काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाह विजयी भए। यसअघि जितेको काठमाडौंमा एमाले यसपालि तेस्रो भयो। ललितपुर महानगरपालिकामा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन विजयी भएका छन्। प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई हराए।
काठमाडौंको उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भइन्। उनले सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई तेब्बर मतान्तरले हराइन्। यसैगरी, ललितपुरको उपप्रमुखमा एमालेकी मञ्जली शाक्य विजयी भइन्। उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनतर्फका नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्यलाई हराइन्। यस्तै पोखरा महानगरको उपमेयरमा एमालेकी मञ्जुदेवी गुरूङ पुनः निर्वाचित भइन्। उनले कांग्रेसकी कोपिला रानाभाटलाई हराइन्। यसैगरी विराटनगर महानगरपालिकाको उपमेयरमा पनि नेकपा एमालेकै शिल्पा कार्की विजयी भइन्। भरतपुर महानगरपालिका र वीरगन्ज महानगरपालिकामा भने कांग्रेसका उम्मेदवार फराकिलो मतान्तरसहित विजयी भए। भरतपुरमा नेपाली कांग्रेसका चित्रशेन अधिकारी विजयी भए। वीरगन्ज महानगरपालिकाको उपमेयरमा पनि नेपाली कांग्रेसकै इम्तियाज आलम विजयी भए।










