नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित नभएको बताएका छन् ।  बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सत्तापक्षले बुथ कब्जा गरेको, बम पड्काएको र उम्मेदवारहरूलाई थुनिएको बताए ।

‘स्थानीय तह निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित भनियो तर १४ दिनमा पनि किन परिणाम आउन सकेन ?’, अध्यक्ष ओलीले संसदमार्फत सरकारलाई प्रश्न गरे ।  उनले सरकारले निर्वाचन धाँधलीरहित निर्वाचन भएको भनेपनि सत्ता गठबन्धनले निर्वाचनका नाममा लोकतन्त्रकै धज्जी उडाएको बताए ।

उनले यही गठबन्धनले २०७४ मा पनि निर्वाचन गराएको भन्दै यस्तो धाँधली नभएको टिप्पणी गरे । ‘यस्तो नाङ्गो ढंगले पञ्चायतमा पनि राज्यसत्ताको दुरुपयोग गरेर निर्वाचन भएको थिएन तर यसपटक भयो, उम्मेदवारलाई थुनेर, बुथ कब्जा गरेर, बुथ कब्जा गर्दा प्रहरी निरीह भएर हेरेर बसेको छ । बुथ कब्जा नगर भन्दा प्रतिपक्षका कार्यकर्ता गिरफ्तार गरिएको छ’, ओलीले भने,  ‘उम्मेदवारका घरमा बम पड्काइएको छ । अनि के यो शान्तिपूर्ण भयो सबै ? कि घरका भित्ताका फेदमा बम पड्किनु सत्ता पक्षलाई अपजस लगाउन हो’ ओलीको प्रश्न छ ।

उनले  एमाले आजको संविधान र आजको प्रणाली ल्याउन संघर्ष गरेको पार्टी भन्दै बहुदल आएपछि फुत्त निस्केर सहभागिता जनाउ भनेर सहभागी भएको पार्टी नभएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय