2022-05-26-10-25-11.jpeg)
काठमाडौं- प्रमुख प्रतिपक्षी दल एमाले मात्रै हैन, अन्य राजनीतिक दलका तर्फबाट पनि खाईपाई आएको मन्त्री, सांसद पद त्यागेर मेयर बन्न दौडनेहरु प्रसस्तै थिए । त्यस मध्ये पनि सवैभन्दा धेरै एमालेका थिए । एमालेका तर्फबाट मन्त्री रहिसकेका विजय सुवेदी चितवन भरतपुरको मेयरका लागि मैदानमा उत्रिए तर अन्ततः माओवादी केन्द्रकी निवर्तमान मेयर रेनु दाहालसँग साँढे १२ हजार भन्दा ठुलो मतान्तरले पराजित भएपछि सडकमा पुगेका छन् ।
एमालेका लागि सबैभन्दा बढी प्रतिष्ठाको महानगर थियो– चितवनको भरतपुर । एमाले कुनै पनि हालतमा भरतपुर जित्ने भनेर अघि बढेको थियो र सोही अनुसार आफ्ना गतिविधि पनि अघि बढाएको थियो । ०७४ सालमा एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएको एमाले यसपटक भने भरतपुरको ८/१० हजार मतदाता भएको राप्रपा र राप्रपा नेपालसँग चुनावी गठबन्धन गरेर मैदानमा उत्रिएको थियो । यस महानगरमा उपमेयरमा एमालेले राप्रपालाई दिएको थियो भने मेयर आफूले राखेको थियो । भरतपुरमा भने एमालेको लज्जास्पद हार हुन पुग्यो । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीलाई १२,४४६ मतको अन्तरले हराउँदै रेनु दाहाल भरतपुरको मेयरमा पुनः निर्वाचित भएकी हुन्। अघिल्लो निर्वाचनमा उनले एमालेका देवी ज्ञवालीलाई झिनो मतान्तरले हराएकी थिइन्। यसपालि दाहालको मत ५२,०२८ छ भने सुवेदीको ३९,५८२।
कांग्रेसको निर्णयविपरीत उम्मेदवार बनेका पूर्वसांसद जगन्नाथ पौडेलले १४,७२८ मत ल्याएका छन्। पौडेलले उम्मेदवारी दिएपछि दाहालको भोट काटिने डर गठबन्धनका नेताहरूमा रहेको थियो। वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनका लागि प्रदेशसभा सदस्यबाट राजीनामा दिएर पराजित हुनेमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका चार जना, सत्तारुढ नेपाली कांग्रेसका एकजना र सत्ता साझेदार जनता समाजवादी पार्टी नेपालका १ गरी ६ जना प्रदेशसभा सदस्य छन्। काठमाडौँ महानगरमा केशव स्थापित, भरतपुर महानगरपालिकामा विजय सुवेदी, पोखरा महानगरपालिकामा कृष्ण थापा र इलामको सूर्योदय नगरपालिकामा काजीमान कागते एमालेबाट पराजित हुने निवर्तमान प्रदेशसभा सदस्य हुन्। काठमाडौँ महानगरको अन्तिम मत परिणाम आउन बाँकी भए पनि एमाले उम्मेदवार केशव स्थापित पराजित हुने पक्का छ। काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह बाजी मार्दैछन् । पोखरा महानगरपालिकामा प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थापालाई हराउँदै नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य महानगर प्रमुखमा विजयी भइसकेका छन्। आचार्य ५८ हजार ८९३ मतका साथ विजयी हुँदा दोस्रो भएका थापाले ५२ हजार ८४८ मत पाएका छन्।
पोखरा महानगरमा गत ०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले मेयर र उपमेयर दुवै जितेको थियो । त्यतिबेला कांग्रेस र माओवादीको गठबन्धनलाई पराजित गरी एमालेले दुवै पदमा विजय हासिल गरेको थियो । तर यसपटक भने एमालेबाट विभाजित भएको नवगठित एकीकृत समाजवादीले तिरीखिरी पारेको हो । एमाले राप्रपा नेपाल लगायतको गठबन्धनका साथ चुनावी मैदानमा उत्रिएको हो । एकीकृत समाजवादीका आचार्यलाई कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुको साथ थियाे । पोखरा महानगर भने एमालेको गढको रुपमा लिइन्छ ।
पोखरा महानगरमा ३३ वटा वडा रहेका छन् । गत ०७४ को स्थानीय तह निर्वाचनमा पोखरा महानरमा २२ वटा वडामा एमाले र ११ वडामा कांग्रेसले जितेको थियो । पोखरा महानगर एमालेको बर्चश्व रहेको ठाउँ हो । इलामको सूर्योदय नगरपालिकामा निवर्तमान प्रदेशसभा सदस्य कागते १ हजार ८५८ मतले प्रमुख हुनबाट वञ्चित भएका छन्। उनलाई एमालेबाटै चोइटिएर गएको नेकपा एकीकृत समाजवादीका उम्मेदवार रनबहादुर राईले हराएका हुन्। कागतेले १० हजार ५७९ मत पाउँदा एकीकृत समाजवादीका राई १२ हजार ४३१ मत ल्याएर नगर प्रमुखमा विजयी भएका छन्।










