दमक । भनिन्छ, बिहानीले दिनको संकेत गर्छ । ठिक त्यस्तै भर्खरै सम्पन्न स्थानीय तह चुनावको परिणामले आउने संघ/प्रदेशको चुनावी परिणामको थोरवहुत संकेत गर्ने राजनीतिक वृतमा चर्चा चलेको छ ।
एमाले अध्यक्ष केपी ओलीले आफु प्रधानमन्त्री भएका बेला दुई दुई पटक संसद विघटन गरेको र अलोकतान्त्रिक निरंकुश बाटोमा हिडेको भन्दै उनी विरुद्द सत्तासिन दलहरुले घेरावन्दी गरे ।
अर्थात, स्थानीय तह निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलले उनी विरोधी मोर्चा नै निर्माण गरे । अझ ओलीको गृहजिल्ला र ओलीकै निर्वाचन क्षेत्र दमक नगरपालिकामा एमाले हराउन सत्ता गठबन्धन दलले राप्रपासँग पनि चुनावी तालमेल गरयो ।
परिणामतः एमाले किल्लाको रुपमा रहेको झापाको दमक यसपटक एमालेले गुमायो । राप्रपाका रामकुमार थापाले दमकको मेयरमा बाजी मारे ।
झापा क्षेत्र नम्बर ५ ओलीको निर्वाचन क्षेत्र हो ।
झापाका कुल १५ स्थानीय तहमध्ये एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्रमा ४ वटा स्थानीय तह पर्छन । दमक नगरपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका र गौरीगन्ज गाउँपालिका गरी चार स्थानीय तह ओलीको निर्वाचन क्षेत्रमा पर्छन्।
यी चारमध्ये यसपटक एमालेले गौरादह नगरमात्रै जितेको छ। बाँकी तीन स्थानीय तहमा एमाले पराजित भएको छ ।
२०७४ को स्थानीय तहमा कमल गाँउपालिका र दमक नगरपालिका मात्र जितेको थियो । कमल गाउँपालिकामा त्यसबेला एमालेकी मेनुका काफ्ले र कांग्रेसका हुकुमसिंह राईको बराबरी मत आएको थियो। मत बराबरी भएपछि अध्यक्ष छान्न गोला गर्दा चिट्ठा एमालेको भागमा पर्यो। मेनुका काफ्ले अध्यक्ष भएकी थिइन् ।
बाँकी दुई मध्ये गौरादह नगर कांग्रेस र गौरीगन्जराप्रपाले जितेको थियो । यसपटकको चुनावमा गत चुनावमा कांग्रेसले जितेको गौरादह एमालेले जितेको छ । अन्य दमक, गौरीगन्ज र कमल गाँउपालिका एमालेले जित्न सकेन ।
दमकमा सत्ता गठबन्धन र राप्पा समेतको महागठबन्धनले राप्रपाले जित्यो । गौरीगन्ज र कमल दुवै गाँउपालिका कांग्रेसले जितेको छ ।










