काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहित अग्रता बढाउँदै गएका छन् ।

४२ हजार २ सय ६९ मत गणना गर्दा बालेनले १६५३७ मत पाएका छन् । उनले पाएको मत अन्य प्रतिस्पर्धीको भन्दा करिब दोब्बर छ ।

हालसम्मको मतगणनामा नेकपा (एमाले)को तर्फबाट मेयरका अर्का प्रतिस्पर्धी केशव स्थापितले ८ हजार ५४८ मत पाएका छन् । यस्तै, गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ६९० मत पाएकी छिन् ।

हालसम्मको मतगणनाको नतिजालाई हेर्दा स्थापित र सिंहले पाएको मत जोड्दा पनि बालेन अगाडि छन् । दुईको मत जोड्दा पनि बालेन २९९ मतले अगाडि छन् ।

सबै वडामा बालेन अगाडि

हालसम्म महानगरका वडा नम्बर १, २, ३ र ५ को मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका सबै वडामा बालेन अन्य प्रतिस्पर्धीभन्दा करिब दोब्बर मतले अगाडि देखिन्छन् ।

वडा नम्बर १ मा कुल २ हजार ३१८ मतमध्ये बालेनले एक्लै ७८३ मत पाएका छन् । त्यस्तै, वडा नम्बर २ मा कुल ३ हजार ३९७ मतमध्ये बालेनले एक्लै १ हजार २१५ मत पाएका छन् ।

यता, वडा नम्बर ३ मा कुल ६ हजार २६३ मतमध्ये बालेनले २ हजार ४०६ मत पाएका छन् । मतगणना सकिएको वडा नम्बर ५ मा पनि बालेनले सबैभन्दा बढी १ हजार ५०१ मत पाएका छन् । जहाँको कुल मत ४ हजार ७९ हो ।

हाल वडा नम्बर ४, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना जारी छि । मतगणना जारी भएकामध्ये ४ र ३२ को ६० प्रतिशतभन्दा बढी मतगणना भइसकेको छ । यी दुवै वडामा बालेन अन्य प्रतिस्पर्धीभन्दा दोब्बरले अगाडि देखिन्छन् ।

समाचार तयार गर्दासम्म कुल ७ हजार २५४ मतमध्ये ७७ प्रतिशत मतगणना सकिएको वडा नम्बर ४ मा बालेनले ३ हजार ९६ मत पाएका छन् । त्यस्तै कुल ७ हजार ४१३ मत रहेको वडा नम्बर ३२ को ६२ प्रतिशत मतगणना सकिएको छ । जहाँ बालेन एक्लैले ३ हजार ३३१ मत पाएका छन् ।

अहिलेसम्मको मतपरिणामको अवस्थालाई हेर्दा आगामी समय पनि उनले बलियो अग्रता कायमै राख्ने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय