काठमाडौं – स्थानीय तहको निर्वाचन जति जति नजिकिँदै छ, उम्मेदवारका आकांक्षीहरू दलबदलमा लाग्ने क्रम उत्कर्षमा पुगेको छ । अघिल्लो निर्वाचनमा एउटा पार्टीबाट विजयी भएका प्रमुख, उपप्रमुख आज त्यही पार्टीमा छैनन् ।

झन्डै १० प्रतिशतले अर्कै पार्टी रोजेका छन् । एमाले र जसपा विभाजनले पनि दलबदललाई प्रश्रय दिएको हो । माओवादी केन्द्रका झन्डै ३० जना प्रमुख उपप्रमुखले अर्को पार्टी रोजेका छन् । यसैक्रममा एमालेका ‘चर्चित’ नेता गोकुल बास्कोटाको गृहजिल्लामा धेरै दृश्य परिवर्तन भएका छन् । हिजो सानदारका साथ जितेको एमाले आज कसरी अघि बढ्ने भन्ने संकटमा छ ।

बास्कोटाकै निर्वाचन क्षेत्र मण्डनदेउपुर नगरपालिकामा एमालेको कन्तबिजोग भएको छ । २०७४ सालको निर्वाचनमा मण्डनदेउपुरबाट आठ वडासहित प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको थियो ।

तर, यसपालि बाँस्कोटाको क्षेत्रमा एमालेलाई चुनाव जित्न थुप्रै चुनौती छ । एमाले विभाजनको फाइदा उठाउँदै चुनाव जित्ने रणनीतिमा कांग्रेस छ ।

मण्डनदेउपुर नगरपालिकामा तत्कालीन एमालेका उम्मेदवार टोकबहादुर वाइबा सात हजार ६ सय ४६ मत ल्याएर मेयर पदमा निवार्चित भएका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका अच्युत पौडेलले ६ हजार तीन सय १३ मत ल्याएका थिए ।

उपमेयरमा एमालेकै निर्मला शाही सात हजार पाँच सय एक मत ल्याएर विजयी भएकी थिइन् भने उनकी निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी उम्मेदवार राधिका ढकालले ६ हजार एक सय ६० मत पाएकी थिइन् । एमालेबाट चुनाव जितेका मेयर वाइबा नै एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बनेका छन् । मेयरसहित पाँच वडाध्यक्ष एकीकृत समाजवादीमा छन् ।

एमालेमा भने उपमेयर निर्मला शाहीसँगै तीनजना वडाध्यक्ष छन् । जनप्रतिनिधिको बाहुल्यता एमालेभन्दा एकीकृत समाजवादीमै बढी देखिन्छ । तत्कालीन एमालेमा काभ्रेबाट प्रभावशाली देखिएका नेता अहिले एकीकृत समाजवादीमा छन् । २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन बागमती अञ्चलबाट एमालेलाइ निल हुनबाट जोगाएका नेता कृष्णप्रसाद सापकोटा पनि एकीकृत समाजवादीमा छन् ।

त्यतिबेला बागमती अञ्चलमा एमालेबाट निर्वाचित हुने उनी एक मात्र सांसद थिए । संविधानसभा सदस्य विदुर सापकोटा, बागमती प्रदेश सांसद लक्ष्मण लम्साल पनि एकीकृत समाजवादीमै छन् ।

नगरमा २८ हजार ५ सय ११ मतदाता छन् । त्यसमध्ये ६ हजारभन्दा बढी भोट समाजवादी एक्लैले ल्याउन सक्ने दाबी स्थानीय नेताहरूको छ । तर, एक्लै उठ्ने आँट भने उनीहरूमा छैन । कांग्रेसमा गठबन्धनमार्फत् चुनावमा जाने कि एक्लै भन्ने कुरामा दुई मत छ ।

सभापति शेरबहादुर देउवा समूह गठबन्धनमार्फत् जाने पक्षमा छ भने शेखर कोइराला समूह एक्लै लड्नुपर्ने अडानमा छ । काभ्रेमा कांग्रेस सभापति तीर्थ लामा देउवा गुटका हुन् ।

देउवा पक्ष काभ्रेमा १३ पालिकामध्ये सातवटा आफूले लिएर बाँकी माओवादी र समाजवादीलाई दिऊँ भन्ने पक्षमा छ । तर कोइराला पक्ष चारवटा दुई पार्टीलाई दिएर नौपालिका आफूले लिने पक्षमा छ । यदि कांग्रेस एकढिक्का भएर गएमा यसपटक एमालेको अवस्था निकै कमजोर हुने बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय