चितवन– हालै शिक्षण सेवाबाट राजिनामा दिनुभएका नेकपा (माओवादी केन्द्र)का बागमती प्रदेश सदस्य ऋषिराम काफ्लेले माडीको नगर-प्रमुख पदमा उम्मेदवारी दावी गर्नुभएको छ ।
नेता काफ्लेले माडीलाई देशकै नमुना नगरपालिका बनाउन आउँदो स्थानीय निर्वाचनमा नगरप्रमुख पदमा आफ्नो ‘जोडदार दाबी’ रहेको बताउनुभएको हो ।
हाल माडीमा भएगरेका विकास निर्माण कार्यहरु नेकपा (माओवादी केन्द्र)को योजनामै नगरप्रमुख ठाकुर प्रसाद ढकाल मार्फत अगाडि बढेको उहाँको भनाई छ । माओवादी केन्द्र कार्यकर्तामा आधारित पार्टी रहेको र नेता धेरै भएकाले उम्मेदवारको आकंक्षी धेरै हुनु स्वभाविक नै रहेको उहाँले बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)मा नगर प्रमुख र उपप्रमुखको उम्मेदवारीको अन्तिम टुङ्गो नगर कमिटिको सिफारिसमा पार्टीको प्रदेश कमिटिले लगाउने व्यवस्था छ । यसअघि हालका नगरप्रमुख ढकालले आफू पुनः उम्मेदवार बन्न तयार रहेको बताइसक्नुभएको छ भने माओवादी केन्द्र माडीका अध्यक्ष प्रभु प्रसाद महतो समेत सम्भावित उम्मेदवारका रुपमा चर्चामै रहनुभएको छ ।










