काठमाडौं – चार करोड २१ लाख हिनामिना गर्ने लिखु तामाकोशी गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जना विरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
विद्युतीय सामानहरु खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीहरुविरुद्ध आज विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारले आज मुद्दा दायर गरेको अन्यमा लिखु तामाकोशी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाई र लेखापाल दुर्गाबहादुर डिम्दोङ तामाङ छन् ।
विद्युतीकरण उपभोक्ता समिति लिखु तामाकोशी गाउँपालिका–५ (साविक नागदह गाविस १–५) का अध्यक्ष वेतबहादुर पुँवार, कोषाध्यक्ष ममीता श्रेष्ठ, सचिव सुब्बा थापामगर, विद्युतीकरण उपभोक्ता समिति लिखु तामाकोशी गाउँपालिका–५ (साविक नागदह गाविस ६–९) का अध्यक्ष सुनबहादुर तामाङ, कोषाध्यक्ष करिष्मा परियार, सचिव दलबहादुर तामाङ र विद्युतीकरण उपभोक्ता समिति लिखु गाउँपालिका–४, (साविक विजुलीकोट) का अध्यक्ष होमबहादुर महत, कोषाध्यक्ष अनिता श्रेष्ठ र सचिव डिल्लीबहादुर सुनुवारविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
लिखु तामाकोशी गाउँपालिका रामेछापका अध्यक्षसमेतको मिलेमतोमा विद्युतीय सामानहरु खरिद गर्दा भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धान हुँदा उनीहरुले मिलेमतोमा गैरकानुनी लाभ पु¥याउने र सरकारी रकममा हानिनोक्सानी पु¥याउने बदनियतले कार्य गरेको पाइएको अख्तियारले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुले ४ करोड २१ लाख ७०६ रुपैयाँ हिनामिना गरेको अख्तियारको दाबी छ । खड्कासँग ४ करोड २१ लाख ७०६ रुपैयाँ बिगो दाबी गरिएको छ । सोही गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत टंकप्रसाद चौलागाईसँग ३ करोड ८ लाख १८ हजार ५२८ रुपैयाँ बिगो दाबी गरिएको छ । खड्का तत्कालीन एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए।
तत्कालीन नेकपाको बाग्मती प्रदेश कमिटीको बैठकले पार्टी नीति विपरीत काम गरेको भन्दै नेकपा रामेछाप जिल्ला कमिटीका सदस्य गत वर्ष खड्कालाई निलम्बन गरेको थियो।
नेकपाले उपाध्यक्षलगायत जनप्रतिनिधिलाई फौजदारी मुद्दा दायर गरेको भन्दै अध्यक्ष खड्कालाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको हो। मिडिया डबली बाट साभार










