काठमाडौँ – सरकारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने र अंगभंग हुने श्रमिक वा उनीहरूका हकवालाले अनलाइनबाटै क्षतिपूर्ति पाउने भएका छन् ।
आज श्रम रोज तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले अनलाइनबाटै क्षतिपूर्ति दिने प्रणाली सुरुवात गरेका हुन् ।
वैदेशीक रोगारजगार बोर्डले तयार पारेको अनलाइन प्रणालीबाट पीडितले घरमै बसेर अनलाइनमार्फत क्षतिपूर्ति पाउने भएका हुन् ।
बोर्डले तयार पारेको यो प्रणालीमार्फत विदेशमा आफन्त गुमाएका वा वैदेशिक रोजगारीका क्रममा घाइते भएका पीडितले घरमै बसेर क्षतिपूर्ति आवेदन गर्न पाउनेछन् ।
उनीहरूले बोर्डले तयार पारेको प्रणालीमा राहदानी विभागले उपलब्ध गराउने राहदानी कोड (पासपोर्ट नम्बर) हालेपछि प्रणालीले आवश्यक सम्पूर्ण कागजात आफै उपलब्ध गराउने छ।
कुन देश गएको, कुस्तो प्रकृतिको रोजगारीमा गएको, कहिले गएको, कुन कम्पनीमा गएको जानकारी दिन्छ । यसपछि, अन्य आवश्यक प्रकृया पनि सोही प्रणालीले मिलाउने बोर्डले बताएको छ ।
यसअघि, पीडित पक्ष देशको जुनसुकै कुनाबाट काठमाडौंमा रहेको बोर्डको कार्यालयमै उपस्थित हुनुपर्थ्यो । त्यसका लागि वडाको सिफारिस आवश्यक पर्थ्यो । अब यस्तो प्रकारको कुनै पनि झन्झट आवश्यक नपर्ने बताइएको छ ।
सम्पूर्ण प्रक्रिया अनलाइनबाटै पुरा हुने र पीडितले पाउने क्षतिपूर्ति बैंकमार्फत हकवाला वा पीडितको खातामा पठाइने छ । र, बैंकवालालाई खातामा रकम आएको जानकारी समेत एसएमसमार्फत दिइने बोर्डको भनाइ छ ।
बोर्डले करिब ७ महिनाको परीक्षणपछि आजबाट औपचारिकरुपमा यो प्रणाली सञ्चालनमा ल्याएको हो ।
अनलाईन प्रणाली उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यो प्रणालीले वैदेशिक रोजगारीमा गएका ज्यान गुमाउने र घाइते तथा अपांग भएकाहरूले पाउनुपर्ने क्षतिपूर्ति सहज ढंगले उपलब्ध हुने बताए । यसबाट, पीडित अनावश्यक र झन्झटिलो प्रकृयाबाट मुक्त हुने उनको भनाइ छ ।








