
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले एमसीसीलाई ‘२१औं सताव्दीमा गरिब देशहरुलाई उपनिवेश बनाउने’ नीतिको संज्ञा दिएका छन् ।
सरकारले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गरेको विरोधमा ६ साना कम्युनिष्ट पार्टी र दुई मोर्चाले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै महासचिव विप्लवले एमसीसीलाई उपनिवेशको नीति भनेका हुन् ।
सभालाई सम्बोधन गर्दै भने- ‘अमेरिकाले सहयोगको नाममा एमसीसी पठाएको छ । यो अनुदान होइन । एमसीसी २१औं सतादीमा गरिब देशहरुलाई उपनिवेश बनाउने अमेरिकी नीति हो । साम्राज्यवादी नीति हो । त्यसैले यो हाम्रो हितमा छैन ।’
महासचिव विप्लवले एमसीसीलाई कम्युनिष्ट सिध्याउने अमेरिकी प्रोजेक्टको रुपमा समेत व्यख्या गरेका छन् । विश्वमा कम्युनिष्ट आन्दोलन कमजोर भएपनि नेपालमा कम्युनिष्ट शक्ति बलियो हुँदै गएको अवस्था देखेर अमेरिकाले नेपालका कम्युनिष्ट सिध्याउन अमेरिकाले एमसीसी अघि सारेका बताए ।
उनले भने- ‘एमसीसी नेपालका कम्युनिष्ट शक्ति सिध्याउने अमेरिकी प्रोजेक्ट हो । नेपालमा कम्युनिष्ट शाक्ति बलियो हुँदै गएको देखेर अमेरिकाले कम्युनिष्ट सिध्याउन एमसीसी पठाएको हो । प्रचण्ड, माधव र केपी ओलीहरु सोही अमेरिकी योजनाको मतियार भएका छन् ।’
सांसदहरुले अमेरिकाको भत्ता खाएर एमसीसी जस्तो राष्ट्रघाती सम्झौता अनुमोदन गरेको भन्दै उनले सांसदहरुलाई कठपुतली समेत भनेका छन् ।
महासचिव विप्लवले एमसीसी कुनै पनि अवस्थामा कार्यान्वयन गर्न नुहेन भन्दै खारेज गर्नुपर्ने बताए । एमसीसी कार्यान्वयन गर्दा देश ठूलो दुर्घटनामा फस्ने भन्दै एमसीसी खारेज गर्न सम्पूर्ण देशभक्त शक्ति एक हुनुपर्ने धारणा राखे ।