
काठमाडौँ – आगामी स्थानीय तह निर्वाचनमा ८० दल सहभागी हुने भएको छ । एक सय १० वटा राजीतिक दलमध्ये ८० वटा दलले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा भाग लिन निवेदन दिएको आयोगले जनाएको छ ।
आयोगले गत फागुन ५ देखि आइतबारसम्म दल दर्ता गर्न समय निर्धारण गरेको थियो । राष्ट्रिय दल मान्यता प्राप्त नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीसहित ८० दलले निवेदन दिएको हो ।
निवेदन लिने प्रक्रिया सकिए पनि आवश्यक कागज भए र नभएबारे छानबिनको काम चैत २५ सम्म हुने आयोगले जनाएको छ । छानबिन सकिएपछि चैत २६ मा राजनीतिक दल दर्ताको स्वीकृति दिने निर्वाचन कार्य तालिका रहेको छ ।
आयोगमा दर्ता भएका दलहरूले निर्वाचनका लागि दल दर्ता गर्नु पर्ने कानुनी प्रावधान छ । २०७४ को स्थानीय तहको निर्वाचनमा ८० वटा राजनीतिक दलले निवेदन दिए पनि ५७ वटाले मात्रै हुन पुगेको थियो ।