
काठमाडौं, १६ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले देशसँगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट जोगिएको जनाएको छ । आइतबार प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन भएपछि प्रचण्ड सचिवालयको यस्तो भनाइ आएको हो ।
प्रचण्डका स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत नेतृत्वलाई विश्वास गर्न पनि आग्रह गरेकी छन् । देश र जनताको हितबाहेक नेतृत्वको अरू कुनै स्वार्थ नभएको उल्लेख गरेकी छन् ।
धेरै विचार र विवेक पुर्याएर एमसीसी अनुमोदन गर्ने निर्णयमा पुगिएको उनको भनाइ छ । संयमित हुनुपर्नेमा उनले जोड दिएकी छन् । नेता–कार्यकर्ता तहमा नेतृत्वविरुद्ध भ्रम पैदा गराउन खोजिएको भन्दै सचेत हुन आग्रह गरेकी छन् ।
उनले एमसीसीलगायत विकसित राजनीतिक घटनाक्रमका बारेमा प्रचण्डले विशेष सम्बोधन गर्ने जानकारी पनि दिएकी छन् ।