काठमाडौं- नेकपा माओवादी केन्द्रले सबै कमिटीमा एक व्यक्ति एक पदको अवधारणा लागू गर्ने निर्णय गरेको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा शुक्रबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधानमा सामान्य संशोधनसमेत गर्दै यस्तो निर्णय गरेको हो ।
बैठकको निर्णयले माओवादी केन्द्रको प्रदेश र पालिका कमिटीमा सात-सात पदाधिकारी रहने व्यवस्था गरेको छ । वडा कमिटीमा पाँच पदाधिकारी र टोल कमिटीमा अध्यक्ष र सचिव गरी दुई पदाधिकारी रहने व्यवस्था गरिएको हो ।
बैठकले सेल कमिटीमा भने सचिवमात्र राख्ने व्यवस्था गरेको छ । बैठकले जिम्मेवारी बाँडफाँड र जिम्मेवारी प्रदान गरेकाहरुलाई प्रभावकारी बनाउन ‘एक व्यक्ति एक पद’ को अवधारणा लागू गरेको बताइएको छ ।










