नवलपरासी / आश्विन १३, अनिल बानिया ( बिनोद निगम ) — दाउन्ने पहाडमा भारतीय मालबाहक सवारीसाधन बिग्रिएको गाडी सडकबाट हटाउन नसक्दा करिब १० घन्टादेखि महेन्द्र राजमार्ग अवरुद्ध भएको छ ।
दाउन्ने बजारदेखि पश्चिमतर्फ राजमार्ग भासिएको स्थानमा बिग्रिएको ट्रकका कारण बिहान ७ बजेदेखि यातायातका साधन चल्न नसकेको हो । इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार राजमार्ग फराकिलो पार्ने क्रममा भत्काइएको खण्ड नबनाएकोले त्यहाँ भैरहवाबाट आएको मालबहाक गाडी बिग्रिएर फसेको हो ।
दाउन्नेमा बिहानैदेखि जाममा परेका भरतपुरका निमप्रसाद ढकालले घुम्तीमा मालबहाक गाडी फसेकोले आउजाउ गर्न नसकिएको बताए ।
राजमार्ग ठप्प हुँदा पूर्व-पश्चिम हिँडेका हजारौं गाडी दाउन्नेमा अलपत्र परेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार पूर्वतर्फ अरुणखोला र पश्चिमतर्फ भूताहासम्म सवारी साधन जाम परेको छ । पानी परेकोले दाउन्ने सडक खण्डमा हिलैहिलो छ ।