काठमाडौं– एमाले सचिव भीम आचार्य र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेतृत्व गरेका प्रदेश १ र बागमती प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीले दाबी गरेको छ।
दुवै जनाको सरकार ढालेर एकीकृत समाजवादीको नेतृत्वमा सरकार गठनको तयारी भएको छ। यसका लागि सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सहयोग गर्नुपर्ने एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको भनाई छ।
मुख्यमन्त्री आचार्यलाई त एक साताभित्र राजीनामा दिनका लागि अल्टिमेटम दिँदै अविश्वासको प्रस्ताव दर्ता गराउने चेतावनी पनि दिइएको छ। उक्त प्रदेशमा राजेन्द्र राईको नेतृत्वमा सरकार गठनको प्रक्रियामा गठबन्धन दलबीच छलफल जारी छ।
यता शाक्यलाई पनि राजीनामा नदिए अविश्वासको प्रस्ताव दर्ता गराएर राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार गठन गर्ने तयारीअनुसार एकीकृत समाजवादी अगाडि बढेको छ।