युएई- अफगानिस्तानस्थित बेलायत दूतावासमा रहेका सुरक्षा गार्डलाई उद्धार गरी दुबई पुर्याइएको छ। दूतावासमा रहेका करिब ५० जना नेपालीसहित १०० जना सुरक्षागार्डलाई उद्धार गरी दुबई पुर्याइएको हो। २०० जनामध्ये बाँकी आधा उद्धारको पर्खाइमा रहेको उद्धार गरी दुबई पुर्याइएका दाङ घर भएका प्रतीक ठकुरीले जानकारी दिए।
अफगानिस्तानस्थित बेलायती दूतावासमा रहेको सेनाको जहाजमार्फत उद्धार गरिएको हो। दूतावासमा रहेका थप सुरक्षागार्डको उद्धार गरेपछि सम्बन्धित देश पठाउने तयारी छ २०० जनामध्ये बाँकी आधा उद्धारको पर्खाइमा
अफगानिस्तानका थुप्रै सहर तालिबानले कब्जा गर्दै आएको छ। अब राजधानी काबुल कब्जाको तयारी गरेको छ। जसले गर्दा विदेशीहरू निकै त्रसित अवस्थामा रहेको ठकुरीको भनाइ छ।
तालिबानले राजधानी काबुल कब्जाको तयारी गरेपछि बेलायती दूतावासले एकाएक आफूहरूको उद्धार गरी दुबई पुर्याइएको ठकुरीले बताए। दुबईमा जम्मा परी विमान चार्टड गरेर नेपाल पठाउने तयारी भइरहेको उनको भनाइ छ। दुबईमा निकै सुरक्षित तरिकाले आफूहरूलाई राखिएको ठकुरीले जानकारी दिए।
अन्य दूतावासमा रहेका नेपालीहरूको अवस्था अज्ञात छ। अन्य दूतावासमा रहेका नेपालीसहित विदेशीहरुको उद्धारबारे अहिलेसम्म केही पनि नगरिएको जानकारी आफूले पाएको ठकुरीको भनाइ छ।
जापान दूतावास, जर्मन दूतावास, क्यानडा दूतावास लगायतमा रहेका नेपालीसहित अन्य विदेशीको उद्धारका लागि अहिलेसम्म केही पनि पहल भएको छैन। ती दूतावासमा रहेका नेपालीहरू उद्धारको पखाईमा रहेको ठकुरीले बताए।
ठकुरी पाँच वर्षअघि नेपालबाट गोर्खा सेक्यूरिटीमार्फत अफगानिस्तान पुगेका थिए। पाँच वर्ष अफगान बसाइका क्रममा पहिलो पटक यस्तो त्रसित वातावरण बनेको उनले बताए।
अफगानबाट अमेरिकी गठबन्धनको सेना फर्किएसँगै तालिबानले आक्रमण तीब्र पारेको छ। आइतबार बिहानसम्म तालिबानले राजधानी काबुलबाहेक अफगानिस्तानका सबै मुख्य सहर कब्जा गरिसकेका छन्।
तालिबानले आक्रमण तीब्र बनाएपछि शक्ति राष्ट्रले आफ्ना नागरिकको उद्धार गर्न थालेका छन्। तर, नेपालले भने अफगानिस्तानमा रहेका नेपाली कति छन् ? उनीहरूको अवस्था कस्तो छ ? भन्ने समेत जानकारी लिन सकेको छैन।
अफगानिस्तानमा अहिले एक हजार भन्दाबढी नेपाली सुरक्षागार्डका रूपमा रहेको अनुमान गरिएको छ। ती सबै उद्धारको पर्खाइमा छन्।
अफगानिस्तान हेर्दै आएको दिल्लीस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीबारे बुझ्न निकै गाह्रो रहेको बताएको छ। दूतावासका प्रथम सचिव विजयकुमार रावतले तालिबानको आक्रमणका कारण त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिन गाह्रो रहेको बताए।