लेटाङ। मोरङ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उप-निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिस्ट पार्टीले प्रभावशाली नेता कुल प्रसाद लिम्बू (कुशल) लाई उम्मेदवारका रूपमा अघि सारेको छ। विकास प्रेमी नेताको छवि बनाएका लिम्बूको उम्मेदवारीसँगै यस क्षेत्रको चुनावी माहौल एकाएक तातिएको छ।
जनस्तरमा भिजेका नेता: उर्लाबारीदेखि लेटाङसम्म
कुल प्रसाद लिम्बू मोरङको उत्तरी क्षेत्रका उर्लाबारी, लेटाङ र केराबारी क्षेत्रमा अत्यन्तै परिचित र लोकप्रिय नाम हो। लामो समयदेखि जनताको सुख-दुःखमा साथ दिँदै आएका लिम्बूलाई स्थानीयले एक ‘काम गर्ने नेता’ का रूपमा चिन्दछन्। विशेष गरी ग्रामीण पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा उनले पुर्याएको योगदानका कारण उनको पकड बलियो मानिन्छ।
विगतको गौरविलो इतिहास: २०७४ को सफल कार्यकाल
२०७४ सालको प्रदेश सभा निर्वाचनमा मोरङ क्षेत्र नं. १ (क) बाट निर्वाचित भएपछि लिम्बूले आफ्नो क्षेत्रमा विकासका थुप्रै कामहरू सम्पन्न गरेका थिए। उनको कार्यकालमा भएका तटबन्धन, सडक संजालबनिर्माण , खानेपानी र सामाजिक चेतनाका कार्यक्रमहरू अहिले पनि स्थानीयका बीचमा चर्चाको विषय बन्ने गरेका छन्।
जनताको मन जित्न सफल भएकै कारण उनलाई यसपटक प्रतिनिधि सभाको ठूलो जिम्मेवारीका लागि पार्टीले भरोसा गरेको देखिन्छ।
२०७९ को चुनावी अनुभव र चुनौती-
२०७९ को प्रदेश सभा निर्वाचनमा उनी पुनः सोही क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएका थिए। उक्त निर्वाचनमा नेकपा एमालेका उम्मेदवार उमाकान्त गौतमसँग उनी ३५२७ मत अन्तरले पराजित हुन पुगेका थिए।
हारका बावजुद पनि जनतासँगको सम्पर्क टुट्न नदिएका लिम्बूलाई यसपटक प्रतिनिधि सभामा पुर्याएर अघिल्लो हारको बदला लिने र क्षेत्रको विकासलाई तिव्रता दिने योजनामा उनका समर्थकहरू लागिपरेका छन्।
‘विकास र समृद्धि’ मुख्य एजेन्डा-
प्रतिनिधि सभा सदस्यका उम्मेदवार लिम्बूले यसपटक मोरङ-१ को समग्र विकास, सुकुम्वासी समस्याको स्थायी समाधान र युवा स्वरोजगारलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाउने बुझिएको छ। उनको उम्मेदवारीलाई लिएर स्थानीय कार्यकर्ता र मतदाताहरूमा उत्साह देखिएको छ।
“अघिल्लो कार्यकालमा प्रदेश सांसद हुँदा मैले सुरु गरेका अधुरा कामहरू पूरा गर्न र यो क्षेत्रको आवाजलाई केन्द्रसम्म पुर्याउन मेरो उम्मेदवारी हो,” लिम्बूले आफ्ना निकटस्थहरूसँग भन्ने गरेका छन्।
आगामी फागुन २१ को निर्वाचनमा लिम्बूको प्रतिस्पर्धा मुख्यत: नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारहरूसँग हुने देखिए पनि उनको पुरानो “लोकप्रिय छवि” र “विकास प्रेमी” पहिचानले उनलाई बलियो दाबेदारको रूपमा उभ्याएको छ।










