
लेटाङ,असोज-२७। साना किसान कृषि सहकारी संस्था लिमिटेड, लेटाङको ३१औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सस्थाका अध्यक्ष नगेन्द्र प्रसाद घिमिरेले अध्यक्षता गर्नुभयो भने प्रमुख अतिथि लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्र कुमार लावती रहनुभएको थियो।
यसैगरी कार्यक्रमका विशिष्ट अतिथि लेटाङ–४ का वडाध्यक्ष राम कुमार श्रेष्ठ, साना किसान केरावारीकी अध्यक्ष प्रमिला देवान, साथै स्थानीय संघ–सस्था तथा सहकारीका प्रतिनिधिहरु रहनुभएको थियो। कार्यक्रममा आमन्त्रित अतिथिहरूले संयुक्त रूपमा रिबन काटेर दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको हो।
कार्यक्रमका क्रममा सस्थामा ३० वर्ष सेवा गरि योगदान पुर्याएकी कर्मचारी उर्मिला खतिवडालाई नगदसहित सम्मान गरिएको थियो। दूध उत्पादक किशानहरुलाई सहुलियत होस हेतुले सस्थाले यसै वर्षदेखि किसानको दूध सङ्कलन सेवा सुरु गरेको छ। प्रमुख अतिथि लावतीले मन्तव्यका क्रममा किसानलाई सहुलियत दिन सस्थाले आफैं दूध सङ्कलन र बजार व्यवस्थापन कार्य सुरु गरेको कदमको उच्च प्रशंसा गर्नुभएको थियो।
साथै, सस्थाले बाल बचत, उत्कृष्ट ऋणी, उत्कृष्ट कर्मचारी, मासिक बचत कारोबार, बाख्रापालन, दूधजन्य व्यवसाय, सामूहिक लघु उद्यम व्यवसाय, अन्तर समूह अध्यक्ष तथा सचिव, बङ्गुर पालन व्यवसाय लगायत विभिन्न विधामा उत्कृष्ट सदस्यहरूलाई सम्मान गरेको थियो।
कार्यक्रममा सस्थाका प्रवन्धक मनोज विष्टले संस्थाको अनुमानित आय–व्यय तथा आम्दानी–खर्च विवरण प्रस्तुत गर्नुभयो भने आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम अध्यक्ष घिमिरेले प्रस्तुत गर्नुभयो। भने कार्यक्रमलाई खगेन्द्र राज भण्डारीले संचालन गर्नुभएको थियो।