लेटाङ, ११ असार।  लेटाङ नगरपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि  ६१ करोड छ लाख २८ हजार दुई सय रुपियाँको बजेट सार्बजानिक गरेको छ । मंगलबार बसेको लेटाङ नगरपालिकाको १७ औँ नगरसभामा नगर उपप्रमुख कृष्णकुमारी निरौलाले प्रस्तुत गर्नु भएको बजेट तथा कार्यक्रम सर्वसहमतिले पारित भएको थियो। कुल ६१ करोड छ लाख २८ हजार दुई सय रुपियाँको बजेटमध्ये चालुतर्फ ४२ करोड १७ लाख ६० हजार चार सय र पुँजिगततर्फ  १८ करोड ८८ लाख ६७ हजार आठ सय रुपियाँ विनियोजन गरिएको छ । नगरपालिकाले भौतिक पूर्वाधार विकासतर्फ सबैभन्दा बढी आठ करोड ५६ लाख २५ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

नगरपालिकाले सामाजिक विकास तर्फ कूल ३ करोड ४१ लाख ४२ हजार रुपियाँ बजेट विनियोजन गरेको छ । सामाजिक विकास अन्तरगत शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, युवा तथा खेलकुद विकास लगायत क्षेत्र पर्दछन् । जसमा शिक्षातर्फ एक करोड ८३ लाख, स्वास्थ्यमा ७६ लाख ५२ हजार, महिला बालबालिका तथा जेष्ठ नागरिकतर्फ ३६ लाख १० हजार, युवा तथा खेलकुद विकासतर्फ  ३० लाख ८० हजार, भाषा संस्कृति प्रवर्धन तथा संरक्षणतर्फ १० लाख र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण तर्फका कार्यक्रमका लागि ५ लाख बजेट छुट्याएको हो ।

यस्तै आर्थिक विकासतर्फ ३ करोड सात लाख एक हजार दुई सय रुपियाँ विनियोजन गरिएको छ । आर्थिक विकास अन्तरगत सबै भन्दा बढी जलश्रोत तथा सिंचाईतर्फ ९३ लाख, पशु सेवातर्फ ६१ लाख ४५ हजार, पर्यटन विकासतर्फ ५४ लाख, कृषितर्फ ५० लाख, उद्योग विकासतर्फ ३० लाख ८४ हजार, भूमि व्यवस्था तथा घर नक्सातर्फ ११ लाख २२ हजार दुई सय र सहकारी विकासतर्फ छ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

नगरसभाले कार्यलय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ११ करोड २० लाख रुपियाँ छुट्याएको छ । जसमध्ये सबैभन्दा बढी कर्मचारीको पारिश्रमिकका लागि २ करोड ६५ लाख र करारका कर्मचारीको पारिश्रमिकका लागि २ करोड ५५ लाख विनियोजन गरिएको छ । नगरसभाले ९ वटा वडालाई ५ करोड ८५ लाख रुपियाँ विनियोजन गरेको छ । ९ वटा वडामध्ये सबै भन्दा बढी वडा नम्बर १ का लागि र सबै भन्दा कम वडा नम्बर ४ का लागि बजेट विनियोजन गरेको छ । सबै भन्दा कम र सबैभन्दा बढी बजेटको अन्तर भने करिव तीन लाख मात्र रहेको छ ।

नगरसभाले नम्बर १ का लागि ६६ लाख ७७ हजार रुपियाँ बजेट विनियोजन गरेको छ । यस्तै वडा नम्बर २ का लागि ६४ लाख ६७ हजार, वडा नम्बर ३ का लागि ६४ लाख १० हजार, वडा नम्बर ४ का लागि ६३ लाख ८५ हजार, वडा नम्बर ५ का लागि ६५ लाख ७७ हजार, वडा नम्बर ६ का लागि ६४ लाख ५२ हजार, वडा नम्बर ७ का लागि ६५ लाख ५५ हजार, वडा नम्बर ८ का लागि ६४ लाख १६ हजार र वडा नम्बर ९ का लागि ६५ लाख ८१ हजार रुपियाँ विनियोजन गरिएको छ ।

नगरसभाले भौतिक पूर्वाधार विकासतर्फ, सामाजिक विकासतर्फ, आर्थिक विकासतर्फ, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ र ९ वटा वडाको वडा सिलिङ गरि कूल जम्मा ३५ करोड पाँच लाख ९३ हजार दुई सय रुपियाँ बजेट विनियोजन गरेको छ ।

यसैगरि प्रदेश सरकारबाट सशर्त अनुदानको कार्यक्रमका लागि ९० लाख ३५ हजार र समपुरक अनुदानको कार्यक्रमका लागि ८० लाख गरि जम्मा एक करोड ७० लाख ३५ हजार रुपैयाँको कार्यक्रम बजेटमा समावेश गरिएको छ । जसमा समपुरक अनुदान अन्तरगत नगरसँगको साझेदारीमा वुद्ध मार्ग कालोपत्रेका लागि ४० लाख र लोखरा÷लाख मार्ग कालोपत्रेका लागि ४० लाख गरि ८० लाखको कार्यक्रम बजेटमा समावेश छ ।

यस्तै संघीय सरकारबाट सशर्त अनुदानतर्फ २२ करोड ६१ लाख, समपुरक अनुदानतर्फ एक करोड र विशेष अनुदान ६९ लाख गरी कूल २४ करोड ३० लाखको कार्यक्रम समावेश गरिएको छ । समपुरकमा अन्तरधार्मिक शान्तिपार्कका लागि नगरसँग साझेदारी गर्न एक करोड र विशेष अनुदान अन्तरगत शान्ति भगवती मा.वि मा छात्रावासको तला थप गर्नका लागि ६९ लाख बजेट समावेश गरिएको छ ।

नगरपालिकाको ३५ करोड पाँच लाख ९३ हजार दुई सय, प्रदेश सरकारको एक करोड ७० लाख, ३५ हजार र संघीय सरकारको २४ करोड ३० लाख गरि कूल ६१ करोड छ लाख २८ हजार दुई सयको बजेट तथा कार्यक्रम निर्माण गरिएको हो ।

– वडा नम्बर १ मुख्य प्रथामिकतामा
लेटाङ नगरपालिकाको १७ औँ नगरसभाले पारित गरेको आर्थिक वर्ष २०८२।०८३ को बजेट तथा कार्यक्रमको मुख्य प्रथामिकतामा वडा नम्बर १ परेको  छ । संघीय सरकार र नगरपालिकाको सहकार्यमा वडा नम्बर १ स्थित राजारानीमा निर्माणाधिन अन्तरधार्मिक शान्ति पार्कका लागि दुई करोड बजेट विनियोजन गरिएको छ ।

यो नगरपालिकाकै सबै भन्दा बढी बजेट विनियोजन भएको एक मात्र योजना अन्तर्गत पर्दछ । यस्तै वडा नम्बर १ कै लोखरा र लाखमा सडक कालोपत्रे गर्नका लागि नगरबाट ६० लाख र प्रदेशबाट ४० लाख गरि एक करोड बजेट छुट्याइएको छ । वडा नम्बर १ को मुर्चुङ्गी खोलामा पुल निर्माणका लागि ३६ लाख र कोलबोटे खोलामा कजवेका लागि २० लाख बजेट विनियोजन भएको छ । यसैगरि वडा सिलिङ अन्तरगत पनि वडा नम्बर १ ले सबै भन्दा बढी बजेट पाएको छ ।

– नगर गौरबका योजना अन्तर्गत कुन क्षेत्रमा कति बजेट?
१. नगर गौरवको योजनाको रुपमा संघीय सरकारसँगको साझेदारीमा लेटाङ १ मा निर्माणाधिन अन्तरधार्मिक शान्ति पार्कलाई १ करोड।
२. प्रदेश सरकारसँगको साझेदारीमा लेटाङ ५ स्थित बुद्ध मार्ग कालोपत्रे गर्नका लागि रु.६० लाख ।
३. लेटाङ १ लोखरा र लाखमा कालोपत्रेका लागि ६० लाख।
४. लेटाङ नगरपालिका वडा नम्बर ५ को वडा कार्यालय भवन निर्माणका लागि ५० लाख ।
५. मुर्चुङ्गि खोलामा निर्माणाधिन पुलका लागि ३६ लाख ।
६. लेटाङ १ कोल्बोटे खोलामा कजवे निर्माणका लागि २० लाख । ७. एक वडा एक नगर गौरवको आयोजनाका लागि प्रत्येक वडालाई २५ लाख ।
८. पाटीखेत तटबन्धन निर्माणका लागी १० लाख ।
९. लेटाङ कानेपोखरी सडक विस्तारका लागी १० लाख ।
१०. पहाडी क्षेत्रका बाटो मर्मत तथा नया ट्रयाक निर्माणका लागी १५ लाख ।
११. पर्यटन पुर्बधारा निर्माणका लागी ५४ लाख ।

– अनुमानित आम्दानी यस्तो छ
नगरको आम्दानी तर्फ आन्तरिक आयबाट दुई करोड ७२ लाख ३५ हजार, दहत्तर बहत्तर दुई करोड १० लाख, गतवर्ष खर्च नभएको अल्या दुई करोड ५० लाख, संघीय सरकार राजश्व वाँडफाँड ११ करोड ८३ लाख २२ हजार दुई सय, प्रदेश राजश्व वाँडफाँड ८५ लाख ५० रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै मालपोतबाट एक करोड २५ लाख र  मनोञ्जन करबाट १२ लाख ५० हजार रुपियाँ आम्दानी हुने अनुमान गरिएको छ । यसैगरि संघ र प्रदेश सरकारले दिने समपुरक र समानीकरण अनुदान समेत गरी कुल ६१ करोड छ लाख २८ हजार दुई सय रुपियाँको आम्दानी अनुमान गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय