लेटाङ, मोरङ | असार-३

मोरङ जिल्लाको लेटाङ नगरपालिका वडा नम्बर-३ को कीर्तिमान सामुदायिक वन क्षेत्रभित्र अवैध रूपमा सञ्चालनमा आएको ओम श्री क्रसर उद्योगले वन क्षेत्र भित्र ऐलेनी जग्गामा विनाश मच्चाइरहेको छ। प्राकृतिक स्रोत-साधन संरक्षणमा महत्त्वपूर्ण मानिने सामुदायिक वनमा बिना नक्सा र अनुमति क्रसर सञ्चालन भइरहेको पाइएको छ।
स्थानीय बासिन्दाका अनुसार, वर्षौं देखि वन क्षेत्रमा ऐलानी जग्गा उत्खनन र ढुंगा क्रसिङ कार्य तीव्र भएको छ। यसले वनजंगल मात्र हैन, वातावरणीय सन्तुलनमा समेत गम्भीर असर पुर्‍याइरहेको छ। वन्यजन्तुहरूको बासस्थान तहसनहस हुनुका साथै, स्थानीय खोलानाला समेत प्रदूषित भइरहेका छन्।
क्रसरले कीर्तिमान सामुदायिक वन क्षेत्र भित्रका ऐलानी जग्गा उत्खनन गरिरहेको छ। बालुवा गिटि निर्बाध रुपमा प्रसोधन गर्ने बहानामा क्रसरले बालुवा र गिटि निकासा गरीरहेको छ। उत्खनन कार्यले वस्तिनै जोखिममा छ।


“पहिले जंगल शान्त थियो, अहिले दिनरात ट्रिपर र मेशिनको आवाज आउँछ।”  लेटाङ-३ का स्थानीयवासी फस्ट बहादुर राईले भने । “जंगलभित्र धुलो, धुवाँ र कम्पनले जनजीवनै असहज बनाएको छ।” स्रोतका अनुसार, क्रसर सञ्चालकले न त वन कार्यालयबाट अनुमति लिएका छन्, न त वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) गरेका छन्। जिल्ला समन्वय समिति, वन कार्यालय र नगरपालिकालाई पटक–पटक निवेदन सहित जानकारी गराउँदा पनि कुनै कदम चालिएको छैन।

हामीले उजुरी दिएका थियौं, डेलिगेसन गयौ तर समबन्धित निकायले चासो देखाएन,” – कीर्तिमान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लक्षमण राईले भने। “यो मौनता आफैँमा संलग्नताको संकेत हो।” यता डिभिजम वन कार्यालयका कार्यालय प्रमुख सत्यनारायण झा लाई क्रसरले अवैध रुपमा गरिरहेको उत्खननको बिषयमा बुझ्दा क्रसर पहिला बेलचौरीमा रहेको वन कार्यलयले हेर्ने गरेको बताउदै अनुगमनको बिषय जिल्ला समन्वय समितिले गर्ने बताए।

पर्यावरण संरक्षण ऐन र खानी तथा खनिज व्यवस्थापन नियमावली अनुसार संरक्षित क्षेत्रभित्र यस्ता क्रियाकलाप गैरकानुनी मानिन्छन्। तर स्थानीय सरकार, जिल्ला समन्वय समिति, र वन कार्यालय सबै मौन छन्। यसबारे सोध्दा लेटाङ नगरपालिकाका प्रसासकिय अधिकृत बिष्णु प्रसाद सुबेदीले नगरले ठेक्का लगाएका बाहेक अन्य बिषयमा नगरपालिकाबाट अनुगमन नहुने बताए । क्रसरले गरेको उत्खननको बिषय जिल्ला समन्वय समिति र वन कार्यालयको क्षेत्राधिकार भित्र पर्ने उनले बताए।

एकातिर सरकारले वन संरक्षण र वातावरणीय दिगोपनाको कुरा गर्छ, अर्कोतर्फ आफ्नै नजरअन्दाजमा सामुदायिक वनजंगल मासिँदै छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय