लेटाङ, मोरङ- किरात याक्थुङ लिम्बू वाजी वंशावली लेटाङ नगर समितिको पहिलो वार्षिक भेला तथा साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। वाजी वंशहरूको ऐतिहासिक किपट स्थल मानिने लेटाङ–६, पार्टीखेतमा आइतबार आयोजित एक विशेष समारोहका बीच कार्यक्रम सम्पन्न भएको हो।

नगर समितिका अध्यक्ष कुल बहादुर वाजी लिम्बूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा किरात याक्थुङ लिम्बू वाजी वंशावली केन्द्रीय समितिका अध्यक्ष रामेश्वर वाजी लिम्बू प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा श्रम संस्कृति पार्टीकी केन्द्रीय सदस्य शान्ति पाख्रिन र समाजसेवी लक्ष्मण ढकालको विशेष आतिथ्यता रहेको थियो।

प्रमुख अतिथि तथा विशेष अतिथिहरूले संयुक्तरूपमा मैनबत्ती प्रज्वलन र ब्यानर वाचन गरेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो। कार्यक्रमको रौनक बढाउन स्थानीय कलाकारहरूले सांस्कृतिक नृत्य तथा गीतहरू प्रस्तुत गरेका थिए।

सांगठनिक तथा आर्थिक प्रतिवेदन-
सभामा अध्यक्ष कुल बहादुर लिम्बूले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले छोटो समयमा हासिल गरेका उपलब्धिहरूबारे जानकारी गराउनुभएको थियो। यस्तै, कोषाध्यक्ष शम्भुराज वाजी ले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो।

कार्यक्रममा वाजी वंशावली सेवा समाजद्वारा सञ्चालित बचत कोषको आय-व्यय समेत सार्वजनिक गरिएको थियो। उक्त कोषमा हाल १९४ जना शेयर सदस्यहरू आबद्ध रहेका छन्। सभामा कोषको ब्याजसहितको कूल मौज्दात रकम सार्वजनिक गरिएको थियो। साथै, गत दीपावलीमा आयोजित देउसी–भैलो कार्यक्रमबाट संकलित रकमको विवरण सार्वजनिक गर्दै सो कार्यक्रममा सहयोग पुर्‍याउने कलाकारहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो।

ज्येष्ठ नागरिक सम्मान र सामाजिक सेवा-
वंशावलीले आफ्नो गौरवमय परम्परालाई सम्मान गर्दै वंशभित्रका ९० वर्ष माथिका दुई ज्येष्ठ नागरिक लाई दोसल्ला ओढाएर विशेष सम्मान गरेको छ। संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत हालसम्म आर्थिक अवस्था कमजोर भएका कारण उपचार नपाएका र शिक्षाबाट वञ्चित भएका करिब १ दर्जन बढी व्यक्तिहरूलाई आर्थिक सहयोग उपलब्ध गराइसकेको जानकारी गराइएको छ।

नयाँ नेतृत्व र ‘चौधरी ग्रुप’ मोडलको अवधारणा-
साधारण सभाको बन्द सत्रले पुन: कुल बहादुर वाजी लिम्बूको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। नवनिर्वाचित अध्यक्ष लिम्बूले आगामी कार्यकालका लागि आफ्नो प्रतिबद्धता व्यक्त गर्दै वाजी वंशलाई आर्थिक रूपमा सबल बनाउने योजना अघि सार्नुभयो।

मन्तव्यका क्रममा उनले भने, “हामी वाजी वंशलाई भविष्यमा ‘चौधरी ग्रुप’ को जस्तै व्यावसायिक अवधारणामा लैजाने योजना रहेको छ। हाम्रो लक्ष्य वंशलाई व्यवसायसँग जोड्दै अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्ने हो, यसका लागि सम्पूर्ण वंशजहरूको सक्रिय साथ र सहयोग आवश्यक छ।” उनले संस्थाले हालसम्म गरेका सम्पूर्ण गतिविधिहरू वंशको उत्थान, एकता र विकासका लागि समर्पित रहेको समेत प्रष्ट पार्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय