लेटाङ। मोरङको लेटाङ नगरपालिकाले नगरको गौरवको आयोजनाका रूपमा अघि बढाएको अन्तरधार्मिक शान्तिपार्क निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। पाँचवटा प्रमुख धर्मका अनुयायीहरू एउटै स्थानमा बसेर ध्यान, छलफल र अन्तरधार्मिक संवाद गर्न सक्ने उद्देश्यसहित निर्माण गरिएको यो शान्तिपार्कको भौतिक संरचना निर्माण कार्य करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ।

आगमी २०८३ को बैशाख महिना भित्र निर्माण कार्य सम्पन्न गरि नगरपालिकालाई हस्तान्तरण गर्नेगरी काम अगाडि बढाईएको फुलमन डेभलपर्सका ईन्जिनियर भबिन खत्रीले जानकारी गराए।

लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीका अनुसार यो पार्कलाई देशकै एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्यसहित काम अघि बढाइएको हो। नगर प्रमुख लावतीले नगरपालिकाले ६ करोड ८ लाख रुपैयाँ लागतको परियोजना प्रस्ताव सङ्घीय सरकारमा पेस गरेपछि सङ्घीय सरकारको ६५ प्रतिशत र लेटाङ नगरपालिकाको ३५ प्रतिशत लागत साझेदारीमा परियोजना कार्यान्वयन सुरु भएको जानकारी दिनुभयो।

नगरपालिकाले आर्थिक वर्ष ०८१/०८२ मा १ करोड रुपैयाँ विनियोजन गरेको थियो। सो रकमबाट शान्तिपार्कको जग निर्माण तथा पहिलो तला ढलान कार्य सम्पन्न भइसकेको छ। हाल मोरङको वडा नं. १, राजारानीस्थित ऐतिहासिक राजारानी पोखरी परिसर नजिक करिब ६ कट्ठा क्षेत्रफलमा शान्तिपार्क निर्माण भइरहेको छ।
वडा नं. १ का वडाध्यक्ष विष्णुबहादुर मगरका अनुसार ५ करोड २९ लाख रुपैयाँमा फुलमन डेभलपर्स प्रा.लि.ले ठेक्का लिएको यो आयोजना ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण भइरहेको छ।

हालसम्म ८० प्रतिशत भौतिक तथा वित्तीय प्रगति भइसकेको फिल्डमा खटिएका ईन्जिनियर खत्रीको भनाई छ। यो शान्तिपार्कमा हिन्दू, बौद्ध, मुस्लिम, किरात र इसाई धर्मका धर्मगुरुहरू एउटै मञ्चमा बसेर धर्म, संस्कृति, सहअस्तित्व र शान्तिका विषयमा छलफल र बहस गर्ने व्यवस्था रहनेछ। धर्मका नाममा संसारभर भइरहेका द्वन्द्व र हिंसाका घटनाहरूका बीच आपसी सद्भाव, मेलमिलाप र सहिष्णुताको सन्देश प्रवाह गर्ने उद्देश्यले यो शान्तिपार्क निर्माण गर्न लागिएको हो।

चार तले संरचनामा निर्माण हुदै गरेको यो शान्तिपार्कमा पाँच धर्मका लागि छुट्टाछुट्टै पाँचवटा प्रवेशद्वार रहनेछन्। प्रत्येक धर्मले आफ्नो द्वारबाट प्रवेश गरेपछि आफ्ना धर्मग्रन्थ, सांस्कृतिक पहिचान झल्काउने सामग्री तथा धर्मसँग सम्बन्धित ऐतिहासिक पाटाहरू अवलोकन गर्न सक्ने व्यवस्था रहनेछ। सबैभन्दा माथिल्लो तलामा निर्माण हुने भ्यू टावरबाट आसपासका रमणीय प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिनेछ।

स्थानीयवासीहरूका अनुसार ‘सबै धर्मको चाहना अहिंसा र शान्तिको कामना’ भन्ने नारालाई व्यवहारमा उतार्न यो शान्तिपार्कले महत्वपूर्ण भूमिका खेल्नेछ। धर्मका नाममा विभाजन होइन, एकता र सहिष्णुताको सन्देश दिने केन्द्रका रूपमा लेटाङको अन्तरधार्मिक शान्तिपार्क स्थापित हुने अपेक्षा गरिएको छ।

धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक गतिविधि बढ्ने, आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने र लेटाङ नगरपालिकाको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फैलिने विश्वास स्थानीयवासी र जनप्रतिनिधिहरूले व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय