लेटाङ, मंगसीर — २४ । साना किसान कृषि सहकारी संस्था लेटाङले आर्थिक वर्ष २०८२/८३ मा सदस्यता राहत कोषमार्फत मृतक सदस्यका ९ परिवारलाई कुल रु. २ लाख ३५ हजार रकम वितरण गरेको छ। सहकारी स्थापना कालदेखिनै सक्रिय रूपमा योगदान पुर्‍याउँदै आएका दीर्घकालीन सेयर सदस्यहरूलाई प्राथमिकताका साथ राहत उपलब्ध गराइएको सस्थाका अध्यक्ष नगेन्द्र प्रसाद घिमिरेले बताएका छन।

यसवर्ष सदस्यता मृत्यु भई राहत प्राप्त गर्ने परिवारहरुमा हेमकुमार श्रेष्ठ, रबिन राई, मनप्रसाद राई, रामबहादुर बुढाथोकी, जिरी राई, सूर्यबहादुर निरौला, निर्मलकुमार दाहाल लगायतका सदस्यहरू रहेका छन्। उनीहरूलाई सहकारीले विभिन्न कठिन परिस्थितिमा सहयोगस्वरूप राहत रकम हस्तान्तरण गरेको हो।

यसै क्रममा, गत हप्तामात्रै मृत्यु भएकी लेटाङ–६ लामिटारकी सदस्यता नं. १६६ लक्ष्मी माया लिम्बू’को परिवारलाई पनि आज सहकारीले सदस्यता राहत कोषबाट नगदसहित समवेदना प्रदान गरेको छ। सस्थाका पदाधिकारी तथा स्थानीय सदस्यहरूको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको थियो।

दूध संकलन सेवा सुरु, किसानहरूमा उत्साह-
साना किसान कृषि सहकारीले यस आर्थिक वर्षदेखि सेयर सदस्यहरूले उत्पादन गरेको दूध संकलन सेवा समेत औपचारिक रूपमा सुरु गरेको छ। सहकारीले कृषकको घरमै पुगेर दूध संकलन गर्ने व्यवस्था मिलाएपछि किसानहरू अत्यन्तै उत्साहित भएका छन्।

कृषकहरूको भनाइ अनुसार, सहकारीले घरघरमै दूध संकलन गर्दा समय तथा श्रम दुवै बचत हुने मात्र होइन, उनीहरूले उत्पादन गरेको दूधको उचित मूल्य पनि पाउन थालेका छन्।

दूध उत्पादनसँगै पशुपालनलाई अझ सुदृढ बनाउन सहकारीले गाई–भैंसीलाई आवश्यक पर्ने गुणस्तरीय दाना न्यूनतम मूल्यमा घरमै पु¥याउने सेवा समेत उपलब्ध गराइरहेको छ। सहकारीको यो प्रयासले किसानहरूको उत्पादन लागत घट्ने र आय वृद्धि हुने अपेक्षा गरिएको छ।

सहकारीको लक्ष्य– ‘किसानलाई आत्मनिर्भर बनाउने’-
सहकारीका पदाधिकारीहरूका अनुसार, सदस्य–कृषकलाई आर्थिक, प्रविधिक तथा सामाजिक रूपमा सक्षम बनाउँदै आत्मनिर्भर कृषक समुदाय निर्माण गर्नु नै सहकारीको दीर्घकालीन लक्ष्य हो। राहत कोष, दूध संकलन, दाना वितरण तथा सदस्य–कृषकमैत्री योजनाहरूले कृषि तथा पशुपालन क्षेत्रमा सकारात्मक प्रभाव पारिरहेको सहकारीको दाबी छ।

लेटाङ क्षेत्रमा कृषि र पशुपालनलाई व्यवस्थित र व्यावसायिक बनाउँदै लैजान सहकारीले आगामी वर्षमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय