सानो बेला अर्थात बाल्यकाल अवस्थाको मानसपटलमा छ-छल्किएका भावहरु वा भावनाहरुको सम्झना यतिखेर झल्झल्ती आइरहेको छ ! त्यतिबेला हामी स्कुलका साथीहरु टिफिन समयमा “मोजाको भकुण्डो” बनाएर पशुपतिनाथ मन्दिर नजिकै रहेको चौरमा खेल्न जाने गर्दथ्यौं ! मलाइ फुटबल र क्रिकेट खेल्न औधि मन पनि लाग्थ्यो ! ठुलो भएपछि यहि क्षेत्रमा आफ्नो भविष्य बनाउने कल्पना हुने गर्थ्यो ! किनभने मलाइ दुइटा खड्का औधि मन पर्थ्यो, एउटा “हरि खड्का” अर्को “पारस खड्का”!

त्यतिबेला नेपाली फुटबलमा मैले सुनेको नाम भनेको “हरि खड्का “ जो नेपाली फुटबल टिमको स्ट्राइकर थिए , र अर्को सुनेको नाम थियो “पारस खड्का” जो नेपाली क्रिकेटर थिए ! आफुलाई फुटबल र क्रिकेट खेल मन पर्ने र त्यतिबेला  नेपालको चर्चित फुटबल खेलाडी हरि खड्का र चर्चित क्रिकेटर पारस खड्का मेरो बेस्ट थिए ! त्यसैले पनि होला म आफु पनि गोल-किपर पोजिसन र क्रिकेटमा अल राउण्ड खेल्न रुचाउछु !

नेपालको फुटबल हेर्न काठमाडौंका गल्लि-गल्लिमा प्रोजेक्टर लगाइएको हुन्थ्यो, ठुलो पर्व लागे जस्तो माहोल हुन्थ्यो ! त्यसबेला साफ च्याम्पियनसिप प्रतियोगिताको निकै ठुलो महत्व हुन्थ्यो ! मलाइ सम्झना भएसम्म सन् २००३ को साफ च्याम्पियनसिप आयोजना, हरि खड्काको सायद अन्तिम साफ गेम थियो, जुन गेमको फाईनलमा बंगलादेश संग १-०  को नतिजाले नेपाल पराजित भएको थियो ! यस संगै बंगलादेशले साफको ट्रफी उठाएको थियो !

नेपाली फुटबल क्षेत्रमा राज्यसत्ता को गैर जिम्मेवारी र चरम राजनीतिको कारण नेपाली फुटबल कहिल्यै माथि उठ्न सकेन ! नेपाली फुटबललाई अन्तर्राष्ट्रिय मन्चहरुमा देख्न पाउने नेपालीहरुको सपना- सपना नै रह्यो ! अब त, नेपाली फुटबलको भविष्य नै नभएको भनेर नेपालमा फुटबल प्रति युवाहरुको चासो पनि निकै कम हुदै गएको छ ! समग्रमा नेपाली फुटबल प्रतिको लगाव मर्दै गैइरहेको पाइन्छ ! नेपालमा हुर्कदै गरेको नेपाली क्रिकेट क्षेत्र पनि फुटबल जस्तै मुर्झाउदै जाने त होइन ? भन्ने प्रश्नले घर गर्दै गयो ! नेपाली फुटबल अन्तर्राष्ट्रिय मैदान सम्म पुगोस र फुटबलका धुरन्धर देशहरु ब्राजिल,अर्जेन्टिना ,जर्मनी ,पोर्तुगाल , फ्रान्स , स्पेन जस्ता देशहरु संग खेलेको हेर्न हामी नेपालीको सपना थियो ! त्यस्तै सपना क्रिकेटमा पनि देख्न थाल्यौं हामी नेपालीले !

नेपालमा सन् २००२ बाट प्रोफेसनल रुपमा प्रारम्भ भएको नेपाली क्रिकेट आज २०२४ सम्म आइपुग्दा फुटबलले पुरा गर्न नसकेको नेपालीको सपना क्रिकेटबाट पुरा हुने दिशातर्फ लम्किरहेको थियो ! त्यसबेला नेपाली क्रिकेटमा पारस खड्का,शक्ति गौचन, ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, को नाम सबैभन्दा चर्चित थियो ! नेपाली क्रिकेट सन् २०१४ सम्म आइपुग्दा नेपालमा क्रिकेट प्रतिको लगाव तथा नेपाली खेल क्षेत्रमा नेपालीले पालेको सपना झन् मजबुत हुदै फुटबलले केन्द्रित राखेको आम भावना र सपना, क्रिकेट प्रति ट्रान्फर हुन् पुग्यो ! सन् २००२ भन्दा अगाडी नेपालमा गाउँघर तथा सहरका गल्लीहरुमा फाट्टफुट्ट क्रिकेट खेल्ने गरेको दृष्यहरु देख्न पाइन्थ्यो !

त्यतिबेला सम्म क्रिकेट सम्बन्धि जानकारी वा नियमहरु बारे धेरै नेपालीहरु अनविज्ञ भएपनि जब सन् २०१४ को टी-२० विश्वकपमा नेपालको सहभागिता पछि नेपालमा क्रिकेटको माहोल बढ्दै गयो र नेपालीहरुले क्रिकेटमा भविष्य देख्न थाले ! हाम्रो देशको हरि खड्का , जुमानु राई, सागर थापाहरुले रोनाल्डो , जिनेदिन जिदान , डेभिड बेकह्याम , रोनी , मेस्सी, नेइमार जस्ता खेलाडीहरु संग खेल्ने दिन कहिले आउला र हामी नेपालीहरु ले टेलिभिजन हेर्दै नेपाल –नेपाल भनेर कहिले चिच्याउन पाइएला ? भनि देखेको सपना आज सम्म पुरा भएन !

यस्तै हामी नेपालीहरुले क्रिकेटमा सचिन तेन्दुलकर , रिकी पोंटिंग , ब्राइन लारा , क्रिस गेल , गिलक्रिस्ट , सेन वार्न , जय सुरिया , मुथैया मुरलीधरन, युवराज सिंह , सौरभ गांगुली , राहुल द्रविड , वासिम अक्रम , सोयाब अख्तर , सन् पालक , वाकर युनिस जस्ता चर्चित क्रिकेटरहरु भएको अन्तर्राष्ट्रिय मैदानहरुमा नेपाली क्रिकेट पनि पुग्न सक्ने सपना देख्न थाल्यौं !

सन् २०१४ को टी-२० विश्वकपमा नेपाली क्रिकेटको प्रवेश भएपछी देशैभरी तिहार झैं पर्व मनाइयो ! पहिलो पटक अन्तर्राष्ट्रिय ठुलो क्रिकेट टुर्नामेन्टमा नेपाल खेलेको हेर्न चोक-चोकमा प्रोजेक्टर राखेर सिंगो देशले अन्तराष्ट्रिय मैदानमा नेपाली क्रिकेट हेरेर सपना पुरा भएको खुसियाली मनायो ! विश्वका चर्चित क्रिकेटरहरु सहभागी प्रतियोगितामा आफ्नो देश नेपाललाई देख्न पाउदा सबैभन्दा अदभुत खुसियाली प्राप्त भएको थियो ! हाम्रा खेलाडीहरुले राम्रो खेलुन वा नखेलुन मतलब थिएँन, किनकि क्रिकेट वर्ल्डमा नेपालको प्रवेश हुनु मात्रै पनि ठुलो उपलब्धि ठानिएको थियो, किनभने अन्तर्राष्ट्रिय मैदानमा पुगेको आफ्नो देशको खेलाडी र खेलाडीहरुले नेपाल लेखेको जर्सी लगाएको दृष्य देखिनु मै ठुलो खुसी मिल्थ्यो ! अन्तराष्ट्रिय मैदानमा चर्चित क्रिकेटर भएका बलिया देशहरु संग नेपालको प्रदर्शन हेर्न पाउनु मात्रै पनि हामी नेपालीको लागि गौरवपूर्ण क्षण थियो, सन् २०१४ !

हामी नेपालीको चाहना पुरा गर्ने त्यसबेलाको नेपाली क्रिकेटका सम्मानित क्रिकेटरहरु सबैलाई धन्यवाद सहित सम्झन चाहन्छु ! सन् २०१४ देखि सन् २०२४ सम्म आइपुग्दा यो १० बर्षमा नेपाली क्रिकेटले थप सफलताहरु प्राप्त गर्दै नेपाली क्रिकेटलाइ अन्तराष्ट्रिय स्तरमा बलियो प्रतिस्पर्धीको रुपमा परिचित गराउदै हामी टी-२० विश्वकपमा यतिखेर दोस्रो पटक सहभागी छौं ! २०२४ T20WC को  समूह ‘डी’ मा रहेको नेपाल सहित नेदरल्याण्ड ,बंगलादेश , साउथअफ्रीका र श्रीलंका रहेका थिए जसमध्य नेपालले पहिलो खेल नेदरल्याण्ड संग खेलेर झिनो अन्तरले हार व्यहोर्नुपर्यो भने श्रीलंका संग रहेको दोस्रो खेल रद्द हुदा १-१ अंक बाडफाड भएपछी सुपर आठमा पुग्न निकै कठिन स्थिति पैदा भयो !

सुपर आठमा पुग्न नेपालले आफ्नो तेस्रो खेल साउथ अफ्रिकालाई जित्नैपर्ने दबाब थियो ! उच्च दबाबमा तेस्रो खेल खेलेको नेपालले विश्व क्रिकेटको बलियो र चर्चित देश साउथअफ्रिकालाई ११५ रनमा सिमित बनाएर उत्कृष्ट बलिंग स्किल प्रदर्शन देखायो ! ११६ रन टार्गेट पाएको नेपालले १४ ओभर सम्म उत्कृष्ट ब्याटिंग प्रदर्शन गर्दै कमाण्ड गरेको नेपालको ब्याटिंग लाइन १४ ओभरपछि एकाएक बिग्रिएको देख्यौं ! जब नेपालले ३ विकेट गुमाएपछीको समय साउथ अफ्रिकाले नेपाललाई पुरै दबाबमा राख्यो !

खेल जित्नको लागि जब नेपाललाई १६ बलमा १७ रन चाहिएको थियो त्यस समय देखि अन्तिम बल सम्म नेपालीहरुको धड्कनको गति अनियन्त्रित भएको थियो भने साउथअफ्रिकाले गरिरहेको प्रत्येक बलमा रनको लागि नेपालीहरुले आ-आफ्नो देउतालाई सम्झिदै प्रार्थना गरिरहेका थिए ! यतिखेर पुरै माहोल तनाबग्रस्त थियो ! त्यो १६ बल भित्र जुन बलमा रन आउथ्यो त्यतिबेला खुसीको हुटिंगले पुरै देश गुन्जायमान थियो ! तर जब जुन बलमा रन निस्कदैन थियो त्यतिखेर पुरै माहोल स्ट्याचु झैं चुपचाप, चिन्तित र दुखित हुदै हरेकको आखाँबाट आशुंका थोपाहरु बगेको पनि देखिन्थ्यो ! त्यतिखेर पुरै देश रोएको अनुभूति भयो ! झन् अन्तिमको २ बलमा २ रनको स्थिति आएपछि त मुटुको धड्कननै रोकिएला जस्तो , ब्लड प्रेसर उचाइमा पुगे जस्तो हातखुट्टा लाल्याक्क गले जस्तो भयो ! यतिबेला हामी खेलाडीहरु प्रति रिसाईरहेका पनि थियौं र गौरवान्वित पनि थियौं यस्तै माहोल थियो !

अन्ततः नेपाल २ रनको अन्तरले हार्न पुग्यो – अन्तिम नतिजा र त्यो १६ बल भित्र नेपालले गरेको प्रदर्शनको आधारमा हामी नेपालीहरुले आवेग र गौरवान्वित दुवै कोणबाट आफ्नो भावना व्यक्त गर्यौं ! गौरवान्वित हुदै व्यक्त गरिएका भावनाहरु सन् २००२ देखि २०२४ सम्मको नेपाली क्रिकेटले गरेको यात्राहरु प्रति सम्मान हो, र आवेगमा व्यक्त गरिएका भावनाहरु नेपाली क्रिकेटलाइ सम्मान स्वरुप दिइएको सुझाव/शुभकामना हो!

आवेगत भावनाहरु- जब नेपाल ले जित्नको लागि १६ बलमा १७ रन चाहिएको थियो ,मैदान भित्र  यस अवस्था निम्तिएपछि ब्याटिंग लाइन आक्रामक नभएर संयमित हुनुपर्थ्यो ! हामीलाई चौका वा छक्का चाहिएको थिएन, आरामले खेल्दै प्रत्येक बलमा १ रन ल्याउने योजना हुनुपर्थ्यो ! यतिखेर नेपाली क्रिकेट म्यानेजमेन्ट तथा कप्तानले अन्दस्पोट योजना नबनाएको देखियो ! यस्तो अवस्थामा कसरि ट्याकल गर्ने प्रेसरलाई कसरी ह्यान्डल गर्ने सम्बन्धमा नेपाली क्रिकेटको ब्याटिंग लाइनमा गम्भीर कमजोरी देखिन गयो ! खेलाडीहरुलाई क्रिकेट नियमहरुबारे पनि पूर्ण रुपमा ज्ञान नभएको वा नर्भसनेसमा बिर्सिएको जस्तो पनि देखियो !

टी-२० क्रिकेटमा एक ओभर भित्र जम्मा दुइ पटक मात्रै बलरले बाउन्सर फाल्न सक्ने नियम छ ! अन्तिमको त्यो २ बल साउथअफ्रिका बलरले बाउन्सर फालेका थिए ! पहिलो बाउन्सर नेपाली ब्याटरको छातीको हाराहारी थियो भने दोस्रो बाउन्सर ब्याटरको टाउको माथिबाट गएको देखिन्छ, यतिबेला नेपालले ‘नो बल’ वा ‘वाईड बल’को अपिल गरेको हुन्थ्यो भने सायद त्यो अन्तिम बल रनमा परिणत हुन्थ्यो ! याहानिर पनि हामी चुक्न पुग्यौं !

खेल नजिते पनि मन जित्यो भनेर आफ्नो देशको रास्ट्रीय टिमलाई हामी नेपालीले जहिल्यै साथ दिदै सम्मान गर्दै आएका छौ ! तर जहिल्यै मन मात्र जित्यो भनेर कतिन्जेल धैर्य गर्ने ? कहिलेकाहीँ त् धैर्यताको डोरी चुडाइदिउ जस्तो पनि नभएको होइन !तर अन्तराष्ट्रिय टी-२० क्रिकेटको मंचमा जम्मा दुइपटक मात्रै पुगेको मेरो देशको टिमबाट हामीले चाहेको नतिजा नआएपनि नेपाली क्रिकेटको संघर्षपूर्ण अविरल यात्रालाइ सम्झदै र संयमित हुदै सम्मानजनक मान्नुपर्छ भन्ने भावनानै सदर भयो, र यहि भावनाको बुझाईले प्राथमिकता पायो !

गौरवान्वित भावनाहरु- वास्तबमै हामी; हाम्रो नेपाली क्रिकेट प्रति गौरवान्वित छौं ! राजनीतिक रुपमा चरम अनैतिकता भएको देश, आर्थिक रुपमा चरम भ्रस्टाचारी देश, सामाजिक रुपमा चरम अराजकता भएको देश , ८० % रेमिटेन्समा निर्भर देश , युवाहरु सप्लाई गरेर अभिष्ट पुरा गर्ने राजनीतिक कल्चर भएको देश , खेलकुद क्षेत्रलाई पुरै बेवास्ता गर्ने देश हुनुको बावजुद पनि नेपाली क्रिकेटलाइ अन्तर्राष्ट्रिय मंच सम्म पुर्याएर हामी नेपालीको इज्जत राखिदिने सिमित पात्रहरु र सिमित संस्थाहरुको कारण आज हामी नेपालीहरु पनि विश्वजगत संग क्रिकेट खेलिरहेका छौं ! अरु कुराहरुमा लड्न नसकेपनि क्रिकेट मार्फत हामी अन्य देशहरु संग लड्ने हैसियत सम्म आइपुगेका छौ !

बिदेशी खेलाडीको नाम कण्ठ पारेर बाहिरको क्रिकेट हेर्न बानि परेको हामी नेपालीहरु अबदेखि मेरो देशमा पनि क्रिकेट छ, र मेरो देशको लेजेण्ड क्रिकेटरहरुको नाम लिदै क्रिकेट बारेमा आफ्नो दावी राख्न सक्ने भएका छौं ! हामी पनि अब आफ्नो देशको जर्सी लगाएर नेपाल –नेपाल भनेर चिच्याउन सक्नेछौं ! उनीहरुले सचिन तेन्दुलकरको नाम लिदा हामीले पारस खड्का भन्नेछौं ! उनीहरुले युवराज सिंह भन्दा हामी दिपेन्द्र सिंह एरि भन्नेछौं ! उनीहरुले सेन वार्नको नाम लिदा हामीले सन्दिप लामिछाने भन्नेछौं! अब हामी संग हाम्रै क्रिकेटको नाम छ !

अन्तर्राष्ट्रिय क्रिकेट खेलहरु हुदा तपाइँ हामी अरुनै देशहरु मध्ये कुनै एउटालाइ समर्थन गर्दै क्रिकेटको मजा लिने गर्थ्यौं ! अन्तर्राष्ट्रिय क्रिकेटमा म चैं भारतलाइ समर्थन गर्ने गर्दथें ! तर मलाई अब यो बाध्यता छैन, किनभने अन्तराष्ट्रिय क्रिकेटमा मेरो देश नेपाल पनि छ, अबदेखि मैले आफ्नै देशलाई अन्तराष्ट्रिय क्रिकेटमा पाएको छु ! आफ्नै देशको नाम लेखेको जर्सी लगाउन पाएको छु ! आफ्नै घरको टेलिभिजनमा मेरो देश पनि सहभागी भएको अन्तराष्ट्रिय क्रिकेट हेर्न पाएको छु ! नेपाल – नेपाल भनेर हुटिंग गर्न पाएको छु ! कयौं असुविधाको बावजुद पनि नेपाली क्रिकेट जुन उचाइमा पुगेको छ, यसबाट म धेरै खुसी छु र गौरवान्वित छु !

२० वटा देश सहभागी प्रतियोगितामा नेपाली क्रिकेट मार्फत हामीले हाम्रो देशको रास्ट्रीय झण्डा कमसेकम आधा विश्वजगतलाई देखाउन पायौं ! आधा विश्वले नेपालको झण्डा देख्यो ! नेपाली क्रिकेट मार्फत अमेरिका मैदानमा हामीले हाम्रो रास्ट्रीय गित सुनाउन पायौं, विश्वभरी हाम्रो देशको रास्ट्रीय गित गुन्जिन पायो ! हामीले संसारलाइ आफ्नो देशको क्रिकेट देखाउन सक्यौं ! नतिजा जस्तो आएपनि विश्व क्रिकेटले आज नेपाली क्रिकेट र नेपाललाई गरिरहेको सम्मान यतिखेर सबैभन्दा ठुलो उपलब्धि हो ! एसोसियट देशहरु मध्ये उत्कृष्ट क्रिकेट कला प्रदर्शनमा नेपाल पहिलो स्थानमा आइपुग्नु पनि अदभुत खुसीको स्थिति हो !

खेलाडीलाइ अपमान नगरौ- नेपालमा क्रिकेट प्रारम्भ भएको करिब २२ बर्ष भयो ! २२ बर्ष देखि संघर्ष गरिरहेको नेपाली क्रिकेट २०२४ सम्म आइपुग्दा जम्मा दुइपटक मात्रै आई सिसि टि-२० मा पुग्न सक्यो ! जम्मा दुइपटक मात्रै अन्तर्राष्ट्रिय मंचमा पुगेको नेपाली क्रिकेटले आज जुन हैसियत बनाएको छ यो नै महत्वपूर्ण हो ! नेपाली खेलकुदमा भविष्य नहुदा नहुदै पनि तपाइँ हामी जस्तै बैदेशिक रोजगारी नरोजेर धरमर- धरमर कन्फ्युजनमा हुर्कदै नेपाली क्रिकेट आज २०२४ सम्म आइपुगेको हो ! हामी नेपालीहरुको लागि खेलाडीहरुले गरेको मिहेनत र त्यागलाइ अवमुल्यन गर्दै अपमानित व्यवहार देखाउने हर्कत कदापी ठिक होइन !

हो नेपाली क्रिकेटमा धेरै कमजोरीहरु छन् त्यसबारेमा छलफल जरुरि छ, गल्लीहरु र गाउँ सहरका सानातिना मैदानहरुमा टुकुटुकु खेल्दै बल्ल त्यहि भएको एउटा TU को मैदान सम्म पुगेर अभ्यास गरिरहेको नेपाली क्रिकेटले नतिजा दिएन भनेर जथाभावी बोल्नु भनेको तपाइँ हामी नै मुर्ख हुनु हो ! यसमा राज्य नै जवाफदेही हुनुपर्छ र ढुक्कले खेलकुद क्षेत्रमा आफ्नो कला प्रदर्शन गर्ने वातावरणको लागि राज्यले खेलकुद क्षेत्रलाई व्यावसायिक जीवन दिन सक्नुपर्दछ अनिमात्र नेपाली क्रिकेटको पनि क्वालिटीमा झन् निखार आउछ र तपाइँ हामीले चाहेको नतिजा निस्कनमा मद्दत मिल्छ !

राजनीतिक बेवास्ता- नेपाली खेल क्षेत्रलाइ नेपालको राजनीति र राजनीतिक व्यवस्थाले कहिल्यै पनि प्राथमिकता वा सहयोग दिएन ! राजनीतिले नेपालको खेल क्षेत्रलाइ जहिल्यै बेवास्ता गरिरह्यो ! नेपालको राजनीतिक व्यवस्थाले खेल क्षेत्रमा मनग्य लगानी गर्ने गरेको पाइदैन ! राजनीतिक व्यवस्थाले खेलकुद क्षेत्रलाई व्यावसायिक बनाउन चाहेनन्  भन्दा पनि हुन्छ ! हरेक राजनीतिक दलको घोषणा पत्रमा यति बर्षमा यति रोजगारको व्यवस्था गर्ने कुरा ल्याउछन तर खेल क्षेत्रलाई रोजगारबाट टाढा नै राख्छन ! हरेक बर्ष आउने बार्षिक बजेटमा समेत खेलकुद क्षेत्र प्राथमिकतामा पर्दैन !

हामीले भारत मै हेर्ने हो भने कुल बजेटको ४.५ % बजेट खेलकुद क्षेत्रमा विनियोजन गरेको हुन्छ, यो बजेट संघ र प्रदेशको सयुंक प्रतिशत हो ! भारतको कुल जनसंख्याको १५ % जनसंख्या खेलकुदमा निर्भर रहेका छन्, जसमध्य करिब ५% जनसंख्या व्यावसायिक खेलकुदमा आवद्द छन् !

यो आंकडालाइ हेर्ने हो भने नेपालमा राज्यले १ % पनि लगानी गरेको छैन ! हालसालैको तथ्यांक हेर्ने हो भने पनि ८०-८१ र ८१-८२  को बजेटमा जम्मा ०.१६ % मात्र विनियोजन भएको पाइन्छ यो ०.१६ % भनेको खेलकुदलाइ मात्रै होइन, यसमा युवा राखिएको छ अनि युवा तथा खेलकुद भनिएको छ, जसको अर्थ विनियोजन भएको बजेट खेलकुद क्षेत्रलाइ मात्रै होइन भन्ने बुझिन्छ, र नेपालमा व्यावसायिक रुपमा ०.००५ % जनसंख्या पनि खेलकुदमा आवद्द रहेको छैन ! यस हिसाबले नेपाली खेलकुद व्यावसायिक बन्न सक्दैन र तपाइँ हामीले चाहेको नतिजा आउदैन !

आज सम्म नेपाली खेलकुदमा राज्यको लागानी १ % सम्म पनि पुग्न सकेको छैन ! तर तपाइँ हामीलाई चैं क्रिकेटमा जित चाहिएको छ! खेलकुदमा राज्यले भरपुर लगानी नै गर्दैन भने खेलकुद प्रति कसरि आकर्षण हुन्छ ? जहिल्यै आफु, आफ्नो छोराछोरी ,ज्वाई , दाजुभाई , भाउजु, बुहारी , नातिनातिना ,नातेदार र आसेपासेलाइ मात्र प्राथमिकता दिने राजनीतिको चरित्र भएको हुदा जनताका छोराछोरी प्राथमिकता मै परेनन् , यस कारणले पनि जनताका छोराछोरी माथि राज्यले लगानी नै गरेन र नेपाली खेलकुद माथि उठ्नै सकेन !

२०४६ सालपछि दलहरुको प्रत्यक्ष राजनीतिक शासन व्यवस्था भित्र नेपालमा एउटा पनि खेल मैदान बन्न सकेन ! राज्यले नबनाएको खेल मैदान बनाउछु भनेर निजि क्षेत्रबाट धुर्मुस-सुन्तली फाउन्डेसन मार्फत चितवनमा ‘गौतम बुद्द अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माण गर्ने कार्य पनि राजनितिकै कारण सफल हुन् सकेन ! यो सब हुनुको प्रमुख कारण खेलकुद प्रति राज्यको नीति र लगानी नहुनु नै हो !

याहा गरिएको चर्चा अनुसार देशको राजनीतिक र आर्थिक हिसाबले जुन नकारात्मक अवस्था छ त्यस हिसाबले नेपाली क्रिकेट धेरै माथि पुगेको मान्नुपर्छ र हामीले खुसी व्यक्त गर्दै नेपाली क्रिकेटलाइ धन्यवाद दिदै नेपाली खेलकुदलाई व्यावसायिक बनाउदै क्वालिटी बिल्ड़प गर्न सबै पक्षहरु गम्भीर हुन् जरुरी छ ! “नेपाली खेलकुद तथा नेपाली क्रिकेटलाइ माया गरौं” !

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय