
कावासोती, मंसिर २- नवलपुरको बुलिङटार गाउँपालिकाका अध्यक्ष चढ्ने स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सामान्य घाईते भएका छन् ।
बिहीबार साझ पौने ६ बजेतिर बुलिङटार- १ बत्तिस क्याम ढुङ्गेबारीमा गाउँपालिकाको अध्यक्ष दिपेन्द्र सुनारी चढ्ने बा १ झ ६७६ नम्बरको स्कार्पियो गाडीले बा ८६ प ७८०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक इन्द्रबहादुर सारु सामान्य घाईते भएका हुन् । उनको दाहिने खुट्टामा सामान्य चोट लागेको छ ।
तिहारको छुट्टिको समयमा गाउँपालिकाको गाडी दुरुपयोग गर्दै अध्यक्ष सुनारीका आफन्त मनकामना दर्शनका लागि हिडेका थिए । गाडीमा अध्यक्ष सुनारी सवार नरहेको तर उनका बुबा शेर बहादुर सुनारी, दाजु विष्णु सुनारी र एक जना बालक सवार रहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार गाडीका ड्राइभर बिदामा रहेकाले दाजु विष्णुले नै गाडी चलाएका थिए । उनीहरुले गैंडाकोटबाट दिदीबहिनी र भान्जाभान्जीलाईसमेत मनकामना दर्शनका लागि लिएर जाने तयारी गरेका स्रोतले जनाएको छ ।
गाडीको ठक्करबाट मोटरसाइकल पूर्ण रूपमा क्षति भएको बुझिएको छ । मोटरसाइकल बनाएको सबै खर्च ब्यहोर्ने आश्वासन दिँदै अध्यक्ष सुनारी र उनका दिदीबहिनीले घटनालाई गुपचुप राख्न खोजिएको स्रोतले जनाएको छ । तर, बनाउन भनेर हिजै गैंडाकोट ग्यारेज लगेको मोटरसाइकल अझैसम्म नबनाएको मोटरसाइकल चालक सारुले बताए ।
घटना कार्तिक ३० गते बिहिवार साँझ पौने ६ बजे भएता पनि शुक्रबार साँझमात्र पीडितको मोटरसाइकल बनाउने तरखर नगर्दा सुचना बाहिरीएको हो ।