
काठमाडौं । सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन बिकको हत्या अभियोग लागेका सांसद लक्ष्मी महतो कोइरी महतो संसद्मा उपस्थित भएका छन् ।
आज (बिहीबार) बसेको संसद् बैठकमा ज्यान मुद्दामा ‘फरार अभियुक्त’ को सूचीमा रहेका नेकपा एमालेका सांसद कोइरी उपस्थित भएका हुन् । संसद् कोइरी संसद्मा सहभागी भएपनि संसद्को हाजिरी शाखामा भने हाजिर गरेका छैनन् । तर, उनी संसद्मै रहेको तस्बिरहरू सार्वजनिक भएको छ ।
बिहीबार संसद्को बैठकमा नेपाली कांग्रेसले हत्या अभियोग लागेका सांसदले भोट हाल्न पाउने वा नपाउने प्रष्ट हुनुपर्ने माग गरेको थियो । यस्तै उनलाई पक्राउ नगरेकोप्रति कांग्रेसका सांसद रामहरी खतिवडाले गृहमन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए ।
कांग्रेसका सांसद रामहरि खतिवडाले सभाध्यक्षलाई प्रश्न गर्दै भने– हत्याको अभियोग लागेको सांसद यहाँ हुनुहुन्छ भन्ने सुनियो हामी त चिन्दैनौँ तर गृहमन्त्रीज्यू पनि यहीँ हुनुहुन्छ । उहाँको मतदान प्रक्रिया रोकियोस् ।’
कांग्रेसको ध्यानाकर्षणपछि उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री रवि लामिछानेले विधि र प्रक्रियाअनुसार काम गर्ने भन्दै अनावश्यक दबाब नदिन अनुरोध गरे ।
‘माननीयज्यू (रामहरि खतिवडा)ले फरार रहेका मानिस संसद्मा हुनुहुन्छ पक्राउ गर्नुस् भन्नुभयो । विधि र पद्धतिबाट बाहिर गएर गृहमन्त्रालय दायाँ बायाँ गर्दैन’, गृहमन्त्री लामिछानेले भने, ‘प्रक्रियाबाट गृहमन्त्रालय बाहिर जाँदैन। कर्मचारी सरुवा बढुवामा पनि विधि बाहिर जान्न । गृहमन्त्रालय आफ्नो प्रतिवद्धतामा टसमस भएको छैन ।’
कोइरी महोत्तरी– २ बाट निर्वाचित भएका हुन् । महतोमाथि २०७२ सालमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको अभियोग छ । उनी अझै फरार अभियुक्तको सूचीमा छन् ।
कोइरीले पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएका थिए ।