काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

निर्वाचन आयोगका अनुसार कुल १ सय ६५ निर्वाचन क्षेत्रमध्ये आइतबार विहानसम्म १ सय ५४ वटा सिटको टुङ्गो लागेको छ भने अझै ११ वटा क्षेत्रको परिणाम आउन बाँकी छ । हालसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५२ वटा सिटमा जीत हासिल गरेको छ भने नेकपा एमालेले ४० वटा क्षेत्रमा जीत हासिल गरेको छ ।

त्यसैगरी नेकपा (माओवादी केन्द्र)ले १७, नेकपा (एकिकृत समाजवादी) ले १० र राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सातरसात क्षेत्रमा विजयी भएका छन् । साथै, जनता समाजवादी पार्टीले छ, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्र तथा पाँच जना स्वतन्त्र उम्मेदवारहरुले जीत हासिल गरेका छन् ।

निर्वाचन आयोगका अनुसार अझैसम्म पनि ११ स्थानको नतिजा आइसकेको छैन । केही स्थानमा मतगणनामा ढिलाइ हुँदा नतिजा आएको छैन भने केही स्थानमा मतगणना सुरु हुन सकेको छैन । साथै, बाजुरामा शनिबार पुनः मतदान भएकाले मतगणनामा ढिलाइ भएको हो ।

हालसम्म दोलखा १, स्याङ्जा २, सुनसरी १, ३ र ४, बाजुरा, इलाम १, उदयपुर १, महोत्तरी १  र रामेछापको नतिजा आउन सकेको छैन ।

दोलखा(१ मा निर्वाचन सम्पन्न भए पनि मतगणना सुरु हुन सकेको छैन । राजनीतिक दलहरुबीच सहमति नजुट्दा मतगणना सुरु हुन नसकेको हो । त्यसैगरी स्याङ्जा–२ मा दलहरुबीच मतगणनाका लागि सहमति जुटेको छैन ।

सुनसरी(१ मा भने मतगणना जारी छ । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ १२ हजार ९९ मतका साथ अग्रता लिइरहेकी छिन्  भने उनलाई जनता समाजवादी पार्टीका अशोक कुमार राईले ११ हजार ९ सय ८२ मतसहित पछ्याइरहेका छन् ।

सुनसरी ३ मा एमालेकि भगवती चौधरी १८ हजार ४ सय ५६ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने नेपाली कांग्रेसका विजयकुमार गच्छदार १३ हजार ९ सय ३७ मतका साथ पछ्याइरहेका छन् ।

सुनसरी ४ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की २१ हजार ४ सय ४५ मतसहित अग्रस्थानमा छन् भने एमालेका जगदिशप्रसाद कुसियैत २१ हजार ४ सय ३३ मतका साथ दोस्रो स्थानमा छन् ।

बाजुराको बूढीनन्दा नगरपालिका(५ मा शनिबार पुनः मतदान भएकाले मतगणनाको काम सुरु हुन सकेको छैन । इलाम १ मा एमालेका महेश बस्नेत १८ हजार ५ सय ४२ मतका साथ अग्रस्थानमा छन् भने नेकपा (एकिकृत समाजवादी) का झलनाथ खनाल १६ हजार ८७ मतका साथ दोस्रो स्थानमा छन् ।

उदयपुर १ मा कांग्रेसका नारायण खड्का २५ हजार ९१७ मतका साथ पहिलो स्थानमा छन् भने एमालेकी मञ्जुकुमारी चौधरी २४ हजार १ सय ९ मतका साथ दोस्रो स्थानमा छन् ।

महोत्तरी १ मा एमालेकी लक्ष्मी महतो कोइरी २३ हजार ४ सय २० मतका साथ पहिलो स्थानमा छन् भने माओवादी केन्द्रका गिरिराजमणि पोखरेल २२ हजार ९ सय ५८ मतका साथ उनलाई पछ्याइरहेका छन् ।

रामेछापमा कांग्रेसका पूर्णबहादुर तामाङ ४२ हजार ६ सय ६२ मतका साथ अग्रता कायम राखेका छन् भने उनलाई एमालेका कैलाशप्रसाद ढुङ्गेलले २९ हजार ६ सय ४९ मतका साथ पछ्याइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय