काठमाडौं- मंसिर ४ गतेको संघ तथा प्रदेश चुनावलाई मध्यनजर गर्दै सत्तारुढ ५ दलीय गठबन्धनले गठन गरेको कार्यदलले प्रतिवेदन बुझाएको छ । शीर्ष नेतासहित आज बसेको गठबन्धन कार्यदलको बैठकमा सहमतिका लागि खाका तयार पारेर प्रतिवेदन बुझाएको बैठकपनि संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।  ‘प्रतिवेदनमा हामीले हाम्रो दृष्टिकोण राखेका छौं।

त्यसमा शीर्ष नेताले थप छलफल गरेपछि त्यसको निष्कर्ष अवगत गराइन्छ,’ कार्कीले भने, ‘प्रतिवेदनका बारेमा कार्यदल र शीर्ष नेताका बीचमा छलफल भयो। भोलि ३ बजे पनि छलफल हुन्छ।’ मंसिर ४ गते हुने निर्वाचनका लागि सत्ता गठबन्धनबीच सिट बाँडफाँटबारे मोडालिटी तय गर्न काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वपमा कार्यदल बनाएको थियो । आजको बैठकमा संयोजक सिटौलाले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

कार्यदलले सिटबारे सहमति जुटेको ९० क्षेत्र र नजुटेको अथवा दुई वा दुई भन्दा धेरै दलले दावी गरेका क्षेत्रसमेत समेटेर प्रतिवेदन तयार गरेको छ ।  एक मात्रै दलले दावी गरेको क्षेत्रलाई स्वभाविक हिसावले सहमति भएको क्षेत्र मानिएको छ । कतिपय क्षेत्रमा भने गठबन्धनकै काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले समेत दावी गरेका छन् ।

यस्तो क्षेत्रलाई कसको संभावना कस्तो छ भन्ने विश्लेषण गरेर प्रतिवेदन तयार पारिएको एक सदस्यले समाचार दैनिकलाई जानकारी दिए ।  कार्यदलले प्रतिनिधि सभा १ सय ६५ र प्रदेश सभातर्फका ३ सय ३० निर्वाचन क्षेत्रमा मोटामोटी सहमति जुटाएको अर्का एक सदस्यले दावी गरे । यस अघि शीर्ष नेताहरुले सिटको संख्याको समेत मोटामोटी आंकलन गरेकाले सोही आँकलनको सेरोफेरोमा सिट बाँडफाँट गर्नेगरि कार्यदलले खाका बनाएको छ ।

सिट बाँडफाँट सहज बनाउन गठबन्धनले कार्यदल बनाएर लामो समयदेखि मसिनो गरी गृहकार्य गरिरहेको थियो । शीर्ष नेतासहित पटक–पटक गरिएको छलफलमा यस अघि बाँडफाँटका फरक–फरक मोेडलमा कुरा भएको नेताहरुले बताएका थिए ।   काँग्रेस ८५ को वरिपरि, माओवादी ५० को वरिपरि, एकीकृत समाजवादी १५, जनता समाजवादी १२ र राजमो १ वा दुई सिट बाँडफाँटका लागि प्रस्ताव गरिएको नेताहरुले बताएका थिए ।

शीर्ष नेताहरुले दिएको यही फ्रेमको सेरोफेरोमा कार्यदलले प्रतिवेदन तयार पारेको हो । तर कुन दललाई कति सिट भन्ने एकिन हुन सकेको छैन । केहि दिन यताको बैठकमा सिटबाँडफाँटलाई नयाँ मोडलमा पनि छलफल गरिएको थियो । माओवादीका नेताहरुलाई अध्यक्ष प्रचण्डले गरेको ब्रिफिङका आधारमा पाएकाे सूचना अनुसार गठबन्धनले १ सय ६५ सिट मध्ये आधा–आधा बाढ्ने मोडलमा पनि छलफल भएको हो ।

गठबन्धनमा रहेका ५ दल र गठबन्धनसँग सहकार्य गर्न चाहेको लोकतान्त्रिक समाजवादी पार्टीलाईसमेत आधार मानेर डेमोक्र्याटिक शक्तिलाई ८३ सिट र वामपन्थी शक्तिलाई ८२ सिट विभाजन गर्ने मोडलमा पनि सहमति हुन सक्ने प्रचण्डले बताएका थिए ।   लोसपा पनि गठबन्धनसँग सहकार्य गर्न चाहेको खण्डमा नेपाली काँग्रेसले ८३ सिटमा लोसपालाई पनि समेट्नु पर्ने, लोसपा नआएको खण्डमा नेपाली काँग्रेसले ८३ सिटमा उम्मेदवारी दिने ।

गठबन्धनमा रहेका ४ वामपन्थी दलहरुले ८२ सिट आपसमा बाँडफाँट गर्नु पर्ने । त्यसमा माओवादीले५० सिट वा त्यो भन्दा केही माथि राख्ने, बाँकी रहेको ३२ सिटमा एकीकृत समाजवादीलाई १७, जनता समाजवादीलाई १३ र राजमोलाई २ सिट विभाजन गर्ने मोडलमा पनि कार्यदल भित्र छलफल भएको थियो । तर संख्या टुंगो लगाउन कार्यदललाई हम्मे हम्मे परेपछि त्यसको जिम्मा शीर्ष नेताहरुलाई नै सुम्पिएर प्रतिवेदन तयार पारिएको छ । समाचार दैनिकमा समाचार छ

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय