काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न सांसदहरुले माग गरेका छन् । प्रमुख प्रतिपक्षी एमालेको अर्थ विभागमा नियुक्त भएको तथ्य सार्वजनिक भएसँगै सांसदहरुले उनीमाथि छानबिन गर्न माग गरेका हुन् ।

सांसद रेखा शर्माले गभर्नर अधिकारी एमालेको अर्थ विभागमा रहेको तथ्य सार्वजनिक भइसकेको भन्दै तत्काल छानबिन गरि कारबाही गर्न माग गरिन् ।

“देशको अर्थतन्त्र बिग्रँदो अवस्थामा छ भन्ने चर्चा भइरहेको छ, राष्ट्र बैंक जस्तो गरिमामय संस्था सम्हाल्ने प्रमुख व्यक्ति गर्भनर महाप्रसाद अधिकारी कुनैपनि राजनीतिक दलमा आवद्ध हुन नपाउने राष्ट्र बैंक ऐन र कर्मचारी नियमावली विपरित नेकपा एमालेको अन्तरपार्टी निर्देशनमा योजना तथा अर्थ विभागका सदस्य जुन एम अधिकारी खोटाङ भनेर नाम आएको छ”, सांसद शर्माले भनिन्, “ति एम अधिकारी राष्ट्र बैंकका गभर्नर हुन् भन्ने विषयले पनि ठूलै चर्चा पाएको छ ।”

अर्की सांसद अन्जना विशंखेले एम अधिकारी महाप्रसाद नै भएको तथ्य बाहिर आएको भन्दै तत्काल छानबिन गरि कारबाहीको माग गरिन् । “एमालेको अर्थ विभागमा नियुक्त भएका एम अधिकारी महाप्रसाद अधिकारी नै भएको तथ्य सार्वजनिक भइसकेको छ, खोटाङका एमालेकै नेताहरुले सो विषयको पुष्टी गरेका छन्”, सांसद विशंखेले भनिन्, “राष्ट्र बैंकको ऐन र बैंकको कर्मचारी नियमावलीअनुसार उहाँ पदमा रहन अयोग्य हुनुहुन्छ, तत्काल उहाँमाथि छानबिन गरि कारबाही होस् ।”

त्यस्तै, सांसद अमृता थापाले पनि एमालेको विभागमा रहेको तथ्य बाहिर आइसकेको भन्दै गभर्नरमाथि छानबिन गर्नुपर्ने माग गरिन् । अर्थतन्त्र संकटमा पर्नुका पछाडि कतिपयका इन्टेष्टहरु जोडिएको भन्दै उनले सरकारले अबिलम्ब छानबिन सुरु गर्नुपर्ने बताइन् ।

कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले पनि एम अधिकारी र महाप्रसाद अधिकारीबारे प्रश्नहरु उठिरहेका भन्दै व्यंग्यात्मक शैलीमा मौद्रिक नीतिबारे सुझाब दिएका छन् । उनले आफुँले एमालेको अर्थ विभागका एम अधिकारीलाई नचिन्ने पनि बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय