
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले बिहीबार पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो टुंगो लगाउने तयारि गरेपनि पदाधिकारी भने घोषणा गर्न सकेन । पार्टीभित्र पदाधिकारीमा अरु पदमा खासै बिबाद नभएपनि महासचिवमा भने हानथाप रहेको छ ।
आइतबारदेखि काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले ४१ सदस्यीय स्थायी समितिको टुंगो लगाएको छ भने १५६ जना पोलिटब्युरो सदस्यको नामावली टुंगो लगाइसकेको छ । बिशेष गरि महासचिवमा बर्षमान पुन कि जनार्दन शर्मा हुने भन्ने बिबाद माओबादीभित्र देखिएको छ। दुवै जनाले अहिलेसम्म आ-आफ्नो दावी नछाड्दा पदाधिकारी चयन हुन् नसकेको हो ।
श्रोतका अनुसार जनार्दन शर्मालाइ प्रचण्डले महासचिव बनाउने तयारि गरेका थिए। तर बिबादमा उनी मुछिएपछी बिरोध भएको थियो। त्यसपछि अध्यक्ष प्रचण्डले पदाधिकारी चयन गर्न गृहकार्य नपुगेको भन्दै बैठकमा थप समय मागेका थिए । माओबादीले गत पुस ११ देखि १८ गते आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो ।
माओवादी केन्द्रको विधानमा १५ जना पदाधिकारी रहने व्यवस्था छ । जसमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, छ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने छन् । पदाधिकारीचयन सर्वसम्मत गर्ने र यदि सर्वसम्मत हुन नसके केन्द्रीय सदस्यको मतदानबाट चुनिनुपर्ने पार्टीको विधानमा उल्लेख छ ।
अहिले माओवादीमा केन्द्रीय सदस्यको संख्या ३ सय ७७ छ । यसमा २५ प्रतिशत मनोनीत, १० प्रतिशत एकता प्रक्रियाबाट समावेश भएका छन् । पदाधिकारीको संख्या १५, स्थायी समितिमा ४१ जना, पोलिटब्युरोको संख्या १ सय २५ र वैकल्पिक पोलिटब्युरोको संख्या ३१ हुने व्यवस्था विधानमा रहेको छ ।
स्रोतका अनुसार महासचिव पदमा ६ जनाको दाबेदारी रहेको भएपनि जनार्दन शर्मालाई सहमतिमै महासचिव बनाउने तयारि भैरहेको छ । महासचिवमा कृष्णबहादुर महरा, देव गुरुङ,जनार्दन शर्मा, पम्फा भुसाल, वर्षमान पुन र शक्ति बस्नेतले दावी गरिरहेका छन् ।