नेपाल को राजनीति मा “असार सात गते” राष्ट्रिय सभा गृहबाट अर्को एउटा राजनीतिक दलको जन्म भएको छ! “राष्ट्रिय स्वतन्त्र पार्टी” नाम दिएर जन्माउने जन्मदाता पुर्व संचारकर्मी “रबि लामिछाने” को नेतृत्व मा उक्त पार्टी ले आज कै मितिमा न्वारान गरेको छ!

पार्टी को नाम “राष्ट्रिय स्वतन्त्र पार्टी” सुन्ने बित्तिकै राजनीतिक पार्टी कसरी “स्वतन्त्र” हुन्छ भन्ने प्रश्न छ! सायद रबि लामिछाने ले नेपालका राजनीतिक दलहरु रास्ट्र हितमा स्वतन्त्र स्वचालित छैनन् भन्ने अर्थमा पार्टी को नाम “राष्ट्रिय स्वतन्त्र पार्टी “जुराएको जस्तो अनुभुति गर्न सकिएता पनि अर्कोतर्फ केही तथ्यहरु पनि छन!

अंग्रेजी शब्द Free, Freedom, Independent, Independence लाई कसरी बुझ्ने? ती शब्दहरु प्रयोग गरेर पार्टीहरुको नामाकरण गरिएका थुप्रै उदाहरणहरु पनि छन् ! स्वतन्त्र शब्द व्यक्तिको लागि मात्र उत्पत्ति शब्द हो? यदि हो भने संसारमा स्वतन्त्र शब्द ले बनेका पार्टीहरुलाई अवैध भन्न मिल्छ? स्वतन्त्र शब्द राखेर दल निर्माण गर्न नपाइने हो तर्कलाइ तार्किक मान्ने हो भने संसारभर प्रयोगमा रहेका स्वतन्त्र पार्टीहरु जस्तै स्वतन्त्र पार्टी अफगानिस्तान, स्वतन्त्र पार्टी अफ क्यानडा, स्वतन्त्र पार्टी अफ अफ्रिका, स्वतन्त्र पार्टी अफ अस्टृया, स्वतन्त्र पार्टी अफ डेनमार्क, स्वतन्त्र पार्टी अफ सुइटजर्ल्यान्ड, बाङ्लादेश स्वतन्त्र पार्टी यस्ता थुप्रै स्वतन्त्र पार्टीहरु संसारभर प्रयोगमा रहेको हुदा नेपालमा “राष्ट्रिय स्वतन्त्र पार्टी ” गठन हुनुलाइ अनुचित ठहर गर्ने प्रयत्नका अनबिज्ञ कोणहरु बाहेक केही होइन!

पुर्व संचारकर्मी “रबि लामिछाने” को; यो प्रयास वा यश प्रकारको कदम तत्काल समयावधि भित्र रचिएको भने बिल्कुल होइन! रबि लामिछाने ले  लामो समय अघि देखिको योजना सार्वजनिक मात्र गरेका हुन झैँ देखिन्छ! उनले पार्टी निर्माणको खाका को लागि धेरै पहिल्यै कसरत गर्दै आएको भन्ने कुरा बुझ्नमा कठिनाई छैन!

खैर: उनले पार्टी निर्माण गर्दैगर्दा स्वयंम “रबि लामिछाने” भित्र आत्मरती को झल्को भने प्रष्ट आएकै छ! जे सुकै भएपनी यस्तै फगत प्रयास गरिसकेका अर्का पुर्व संचारकर्मी “रविन्द्र मिश्र” को आत्मरती ले फेल खाए जस्तै “रबि”भित्रको आत्मरती ले फेल नखाओस भन्ने आत्मगत शुभकामना दिनमा चै हामी कसैले पनि कन्जुस्याइँ गर्नु हुदैन ! 

पुर्व संचारकर्मी “रविन्द्र मिश्र”ले नेपाली राजनीतिलाई आत्मरती मुल्यांकन गर्दै पार्टी निर्माण गरेको उदाहरण ताजा नै छ! उनले पनि चरम राजनीतिक व्यथिती र तथाकथित फलोअर वा सामाजिक संजालको भड्काव मा प्रभावित भएको त पुष्ठि नै भैसक्यो! “चरम राजनीतिक व्यथिती” ले खासगरी जनमानसमा आएको चरम फ्रस्टेसन वा सरल शब्दावलीमा भन्नुपर्दा वाक्क-दिक्क को स्थिति पैदा भएको आम

“मनो बिज्ञान” भित्र आफुले संचालन गरेको राजनीति ले जनमत पाउनेमा “रविन्द्र मिश्र” ढुक्क थिए! तर नेपालामा नयाँ राजनीति चाहने जेनेरेसन (नयाँ पिढी) अर्थात  “जेनेरेसन ग्यापिङ” भैनसकेको यथार्थबाट रविन्द्र मिश्रको राजनीति धेरै टाढा थियो!

“रविन्द्र मिश्र र रबि लामिछाने” भित्र समान प्रकृतिकै आत्मरती प्रवृत्ति देखिएको छ! रविन्द्र मिश्र ले पनि “व्यक्यिगत पपुल्यारिटी” को वरिपरि राजनीति प्रारम्भ गरेका थिए भने यतिखेर “रबि लामिछाने” पनि सोही बाटोमा छन् यद्यपि नेपालमा राजनीति गर्न पहिल्यै पपुल्यारिटी हुनैपर्ने मनो बिज्ञान  जनमानस भित्र पनि ब्याप्त छ! हिजो डा.बाबुराम भट्टराई को नेतृत्वमा प्रारम्भ भएको “नयाँ शक्ति” ले किन फेल खायो? जसको एउटै उत्तर छ:- पार्टी भित्र डा.बाबुराम बाहेक अर्को कुनै “टावरिङ प्रस्न्यालिटी” थिएन!

नेपाल मा भिजन/योजना को आधारमा मूल्याकंन गर्ने जेनेरेसन वा पिढी को सङ्ख्या उल्लेख्य छैन! भिजन/योजना/इमानदारीता/इच्छा शक्ति कै आधारमा राजनीति संभव हुन्थ्यो भने हालैको स्थानीय निर्वाचनमा पुनः नेपाली काङ्ग्रेस पहिलो दलको रुपमा स्थापित हुने नै थिएन वा चल्तिका ठुला दल पुनः ठुलै भएर उदाउने नै थिएनन्!

पहिलो कुरा त नेपालमा आइडोलोजिकल भनौं वा सिद्धान्तनिष्ठ जनमत नै छैन अथवा निस्ठावान मत छैन सायद सिद्धान्तनिष्ठ राजनीतिक दल नभएर पनि जनमत विभाजित छ! धोकाधडी र तिक्डमको राजनीति भित्र “नयाँ राजनीतिक कदम” लाई अन्यथा मान्न त सकिँदैन तर सफल होला ? भन्ने प्रश्न चै जरुर आउँछ!

नव गठित राष्ट्रिय स्वतन्त्र पार्टी” को चर्चा गरौं:-

मिति ०७/०३/२७९ मा गठित “राष्ट्रिय स्वतन्त्र पार्टी” राष्ट्रिय सभा गृहमा पुर्व संचारकर्मी “रबि लामिछाने” द्वारा घोषणा भएको छ! घोषणा सभा हेर्दैगर्दा अतिथिहरुको ताती देखिएन, तथाकथित वाद र सिद्धान्तका अनावश्यक भासणबाजि पनि देखिएन! नेपाली मानसपटल को औकात ले नभ्याउने ठुला-ठुला गफको भण्डार पनि देखिएन! देखियो त मात्र नयाँ नाम “रबि लामिछाने” पुस्ताको राष्ट्रिय स्वतन्त्र पार्टी र सातवटा महत्त्वपूर्ण बुदा!

संसार को एउटा “सार” छ जसलाई राजनीति ले अनिवार्य सर्तको रुपमा राजनीतिमा भित्र्याएको छ! पहिलो सर्तको रुपमा “बोल्सेविक हुने कि मेन्सेविक हुने? दोस्रो सर्तको रुपमा समाजवादी हुने, पुजिवादी हुने वा उदारवादी हुने? यो दुइटै सर्तको वरिपरि पार्टी घोषणा गर्दैगर्दा रबि लामिछाने ले केहिपनी नखुलाइकन “मात्र सात वटा बुदा” प्रस्तुत गरेका छन!

तर संसारको राजनीतिक, आर्थिक र सामाजिक “सार” अनुसार तिनवटा मान्यतालाई अनिवार्य गरिएको पाइन्छ!

१. मार्क्स को समाजवादी अर्थव्यवस्था

२. एडम स्मिथ को पुजिवादी अर्थव्यस्था 

३. जन लक को उदारवादी अर्थव्यस्था

रबि लामिछाने ले पार्टी घोषणा गर्दैगर्दा कस्तो प्रकारको अर्थव्यवस्था बारेमा उल्लेख गरेका छैनन् ! हुनत बिकास, समृद्धि , समानता, आदि कुराहरु कुन अर्थव्यवस्था भित्र पर्दछन र कुन तन्त्रको पेवा हो भन्ने कुरा राजनीतिक तान्त्रिकहरु को आ-आफ्नो दलिल त होला नै, तर जनताको दैनिक सरोकारको विषयहरुलाइ सम्बोधन गर्नको निमित्त मार्क्स, एडम वा जन लक” को थेउरी अति आवश्यक पनि नहोला!

भर्खरै निर्वाचित धरान मेयर “हर्क साम्पाङ” लाई धरान को खानेपानी समस्या समाधान गर्न “मार्क्स, एडम वा जन लक” कस्को थेउरी आवश्यक पर्‍यो होला? काठमाडौंका मेयर “बालेन”लाई फोहोर व्यवस्थापन गर्न कस्को थेउरी जरुरी पर्‍यो होला? राजनीति गर्न राजनीतिमा माथी उल्लेखित थेउरीहरु अवलम्बन गर्नैपर्ने अनिवार्यता जरुरी छ? यदि छ भने मौलिक राजनीति कसरी हुन्छ? यदि छैन भने उक्त थेउरी अवलम्बन नगर्ने व्यक्ति वा दललाई अयोग्य मान्ने हाम्रो मनो बिज्ञान सहि छ? यस्तै प्रश्नहरु को बिचमा “रबि लामिछाने” ले नयाँ पार्टी घोषणा गर्दै “सात बुदा” सार्वजनिक गरेका छन् !

पहिलो बुदा:- प्रारम्भिक निर्वाचन

योगदानको पट्यारलाग्दो मूल्याकंन को परम्परागत मापदण्ड तोडेर आन्तरिक निर्वाचन मार्फत उम्मेदवार छनौट गर्ने परिपाटी अत्यन्त सकारात्मक प्रस्तुत हो! यसो गर्दा  टिके प्रथा, चाकरी प्रथा र परिवारवाद निर्मुल गर्ने योजना राम्रो देखियो!

दोस्रो बुदा:- बहुसंख्यक युवा ५०% +१ को सुत्र 

नेपाली राजनीति मा राजनीतिलाई पेशा नै बनाएर आजिवन भोगचलन गर्दै आएका राजनीतिक र शारीरिक रुपका बुढाहरु विस्थापित गर्ने योजना चै खासै नयाँ नभएपनी नेतृत्वमा युवा नै भएको कारण केही आशा गर्न भने सकिन्छ!

तेस्रो बुदा:- प्रत्येक्ष निर्वाचित प्रधानमन्त्री/मुख्यमन्त्री 

यो एजेन्डा राजनीतिको पुरानै एजेन्डा हो! खासगरी माओवादी आन्दोलनबाट चर्चित एजेन्डा भएपनी उक्त एजेन्डा यतिखेर स्वयंम माओवादी नामको प्रचण्ड केन्द्रको निम्ति पनि र समग्र राजनीतिक दलहरुको निम्ति ठगिखाने भाडो बन्न पुगेको स्थितिमा नयाँ पार्टी ले पुनः उठाउनुलाइ सकारात्मक नै मान्न सकिन्छ! तर प्रधानमन्त्री खाने लाइनमा बसेका नेपालका “करिब दश जना नेताहरु”को इच्छा बिपरित रबि को नंया पार्टी ले यो एजेन्डालाई कसरी सार्थक बनाउला ठूलो चुनौती छ!

चौथो बुदा:- राइट टु रि कल एन्ड राइट टु रिजेक्ट 

यो व्यवस्था एक प्रकारको “महाअभियोग” नै हो तर “रि कल” व्यवस्था नयाँ प्रयोग भएकोले उत्साहित एजेन्डा हो र आवश्यक एजेन्डा पनि हो!

पाचौं बुदा:- परिवारवादलाई निषेध र साहायक सङ्गठन रहित 

नेपाली राजनीति मा परिवारवाद को चरमता भैरहेको बेला पार्टी घोषणा को पहिलो दिन मै लाभका पदहरुमा परिवार को कुनैपनी सदस्य ले टिके अवसर नपाउने सार्वजनिक घोषणा समेत गर्नु भनेको परिवारवाद प्रतिको सकारात्मक ठूलो आक्रमण हो!

भादृसङ्गठन नबनाउने कुरा अत्यन्त सकारात्मक छ, यसले खासगरी स्थानीय तहमा  “राजनीतिकरण” निकै हदसम्म रोक्छ र समाज बिकृत राजनीतिबाट जोगिन्छ भन्ने अवधारणालाई राजनीतिक रुपमै घोषणा हुनु प्रसंसा योग्य छ!

छैटौं बुदा:- डिजिटल डेमोक्रेसी 

सायद आधुनिक लोकतन्त्रलाई आकर्षक पार्नको लागि अङ्ग्रेजी शब्द प्रयोग गरेको हुनसक्छ! हुनत सबै क्रियाकलापहरु आजको युगमा डिजिटल सिस्टममा प्रवेश गरेन भने लोकतन्त्र को खास अर्थमा कमि आउने र त्यसले लोकतन्त्रलाई कुरुप बनाउने आशय अन्तर्गत डिजिटल डेमोक्रेसी भनेको हुनुपर्छ!

सातौं बुदा:- कार्यकर्ता रहित पार्टी 

यो बुदा धेरै भ्रमित देखिन्छ, सामान्यतया कार्य गर्ने कर्तालाइ “कार्यकर्ता” भनिन्छ ! तर कार्यकर्ता शब्दले राजनीतिक रुप लिएपछि नेपालमा “कार्यकर्ता” शब्दको गरिमा र मर्यादा स्वयंम कार्यकर्ताहरुद्वारा उल्लंघन भएर शब्द नै घृणित बन्न पुगेको अनुमान भित्र कार्यकर्ता शब्दलाई संशोधन मात्र गरेको बुझिन्छ! त्यसो त हिजो डा. बाबुराम को नेतृत्वमा नयाँ शक्तिको अवधारणा भित्र पनि कार्यकर्ता शब्दलाइ संशोधन गर्दै “अभियान्ता”  भन्ने प्रचलन बसाल्न खोजियो! राजनीतिमा कार्यकर्ता रहित भन्नू आफैंमा भ्रमित प्रयोग सिद्द भैसकेको उदाहरण छ! यदि क्याडर बेस पार्टी बनाउन खोजेको हो भने कार्यकर्ता रहित पार्टी भर्मित कुरा हो तर मास पार्टी बनाउन खोजेको हो भने एकहद सम्म ठिकै पनि मान्न सकियला! सायद कार्यकर्ता रहित भन्नुको अर्थ “कार्यकर्ता करण”को न्यूनीकरण अन्तर्गत सोचेको देखिन्छ!

बिकृत राजनीति ले उच्चता लिरहेको परिस्थितिमा एउटा  पपुल्यारिटी  प्रस्न्यालिटी भएको व्यक्तिको नेतृत्वमा नयाँ पार्टी निर्माण हुनुले आंसिक आकर्षण वा आंसिक प्रसंसा त मिल्ला नै तर पार्टी को झन्डा र साङ्गठानिक स्वरुप बारे मौन घोषणाको  प्रभावकारिताको तापक्रम अहिल्यै निर्क्यौल गर्न भने कठिन छ! किनभने अन्तर्राष्ट्रिय मामिला तथा राष्ट्रिय मुद्दाहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा कै दिन मौन देखिएको छ!

राष्ट्रिय स्वतन्त्र पार्टी गठनको प्रक्रियालाई मुलधार राजनीति विरुद्धको बिद्रोहको रुपमा पनि बुझिएको छ तर गहन विषयहरुमा राजनीतिक कार्यक्रम अन्तर्गत मौन देखिएको कारण नेपाली राजनीतिको मुख्य दुई धार संवैधानिक राजसंस्था सहितको हुन्दु राज्य अंगिकार गर्ने पश्चगमन धार र संघीय लोकतान्त्रिक गणतन्त्रका बाम-लोकतान्त्रिक धार”लाई प्रभावित पार्नेगरी आसन्न संसदीय निर्वाचनको सन्निकट  राजनीतिक कार्यक्रम रहित गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी शंकास्पद तवर ले उदाएको छ! याहानेर मैले शंकाको सुविधा सुरक्षित राख्न मात्र चाहेको छु किनकी भू-राजनीतिक रुपमा नेपाल यतिखेर जटिल संकट उन्मुख हुदैगर्दा त्यस उपर राष्ट्रिय स्वतन्त्र पार्टी गठन प्रक्रियाको प्रारम्भ मै मौन देखिनु आश्चर्यजनक अनुभुत भैरहेको छ!

बिकृत राजनीतिमा नयाँ दलको जन्म भैरहदा एउटा भ्रमित आशा पलाउनुलाइ अस्वभाविक त नमानौं तर वर्तमान राजनीतिको संसदीय पद्धतिको शासकीय स्वरुप र तथाकथित निर्वाचन प्रणाली भित्र राष्ट्रिय स्वतन्त्र पार्टी को राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्तुति र भुमिका एक फगत प्रयास वा आवश्यक पहल ?आसन्न संसदीय निर्वाचन ले नै तय गर्नेछ! शंका गर्ने ठाउँ धेरै हुदाहुदै पनि भर्खर गठन भएको पार्टी प्रती हतारो शंकास्पद आलोचना गर्नुभन्दा सफल्ताको शुभकामना व्यक्त गर्दा नै उचित होला!

राजु ढुंगाना ( प्रनिल)   

राजनीतिक विश्लेषक तथा लेखक 

 

100% LikesVS
0% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय