विसुन देव सरदार
लहान।मंसिर-२ गते- तराई मधेसका गाउँगाउँमा सँझ परेसँगै सामा चकेवाका मनमोहक गीतसंगीहरु गुंजिरहेको देखिएको अवस्था छ। दिदिबहिनीहरुले दाजुभाइको जीवन रक्षाको कामना गर्दै सामा चकेवा मनाउने गर्दछन।
मिथिलाञ्चलको प्राचीन सामाजिक, पारिवारिक संस्कार र परम्परालाई इंगित गर्ने सामा चकेवा पर्व लोकनाट्यको रुप हो, सामा चकेवा ।

“माटीक सामा गरहली , बहिनो खेल चल् ली , हो भैया जिय हो जुगजुग जिय हो।
गीत गाउँदै मध्यतराईका विभिन्न जिल्लामा सामा चकेवा पर्व मनाई रहेको देखिन्छ । यसको आफ्नै महत्त्व रहेको देखिन्छ । दिदीबहिनीले १० दिनसम्म भाइ–बहिनीबीचको प्रेमलाई गीत गाउँदै दर्शाउनेगर्छ। सामा चकेवा विशेषत: गाउँघरतिर छुट्टै रौनक देखिए पनि शहरबजारमा मौलाएको अवस्था देखिन्छ । यो सामा चकेवा छठको खरनाको दिन कार्तिक शुक्ल पञ्चमीदेखि सुरु हुने सामाचकेवा रात्रिकालीन समयमा गाउँका छोरी र बुहारी एक ठाउँमा भेला भई माटोको विभिन्न प्रतिमासहित सामा चकेवाको गीत गाउँछन् ।

१० दिनसम्म चल्ने यो पर्व ११औँ दिन पूर्णिमामा विसर्जन गरिन्छ । ११औँ दिन माटोको प्रतीकहरूलाई भाइको हातबाट फुटाई खेत वा वनमा विसर्जन गरिन्छ । भाइको उमेर लामो होस् र उसलाई कुनै रोगव्याधि नलागोस् कामनाका साथ सामा मनाइन्छ ।

बहिनीहरूले सामा, चकेवा, चुगला आदिको माटोको प्रतिमा बनाई बाँसको डालोमा राखी साँझको वेला गीत गाउने गरेको देखिन्छ ।

आजको यस आधुनिक युगमा तीब्रतर विकासका बावजूद पौराणिक एवंम लोकोक्तिमा आधारित परम्परा आज पनि विभिन्न समुदाय र क्षेत्रमा कायम देखिन्छ । त्यसैले होला द्वापर युगदेखि चली आएको सामा–चकेवा पर्व केवल मिथिलाञ्चलमा मात्र होइन आर्यावर्तका अन्य क्षेत्रमा पनि हर्सोल्लास र लोकाचारका साथमा मनाउने गरिन्छ । नेपालमा मनाइने विभिन्न धार्मिक तथा आध्यात्मिक सांस्कृतिक पर्वमध्ये अत्यन्त लोकप्रिय पर्व ‘सामा-चकेवा’ पर्व कात्तिक महिनाको शुक्ल पञ्चमी देखि पूर्णिमासम्म मनाइन्छ । यो पर्व पूर्वी नेपालका थारु जनजातिले पनि विशेष उत्साहका साथ मनाउने गर्दछन।

यस्तो छ किंवदन्ती –

यस पर्वबारेको बारेमा विभिन्न धार्मिक ग्रन्थहरूमा चर्चा गरिएको छ । सामा चकेवा पर्वको सुरुवात द्वापर युगमा श्रीकृष्णको पालामा भएको विश्वास गरिन्छ । भगवान् श्रीकृष्णको छोरी साम्बा र छोरा साम्बबीचको प्रेमलाई आधार मानेर सामा चकेवा पर्व मनाइने गरेको उल्लेख छ । कृष्णकी छोरी साम्बालाई चुडक भन्ने व्यक्तिले मनपराएका थिए । तर, साम्बाको विवाह चारुवाकसँग भइसकेको थियो । आफूले मन पराएको व्यक्तिको अर्कैसँग विवाह भएकोमा प्रतिशोध लिन चुडकले कृष्णको सामु उसको छोरीको चरित्र ठीक नभएको भन्दै कुरा लगाए । कृष्णले पनि सत्यतथ्य नबुझी रिसको झोँकमा छोरीलाई पक्षी बन्ने श्राप दिए ।

पछि ज्वाइँ चारुवाकले कृष्णलाई भेटेर आफ्नी पत्नी निर्दोेष र स्वच्छ छवीकी भएकी बताए । र उनीविना बाँच्न नसक्ने बताए । उनले आफूलाई पनि पक्षी नै बनाई दिन आग्रह गर्दा कृष्णले उनलाई पनि पक्षी नै बनाइदिएको किंवदन्ती छ । कुरा लगाउने चुडक (चुगला)लाई भने देशनिकाला गरेका थिए ।आफ्नी बहिनी साम्बा र ज्वाइँ चारुवाकको श्रापलाई निष्क्रिय गर्न साम्बले कार्तिक शुक्ल पञ्चमीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म ११ दिन गोपेश्वर महादेवको मन्दिरमा प्रत्येक साँझ नृत्य र पूजा गरी भगवान् भोलेनाथलाई खुसी पारेको र भगवान् खुसी भई साम्बा दम्पतीलाई पुनःमानव जीवन दान दिएको मान्यताका साथ यो पर्व मनाइँदै आइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: अरुको Copy गर्नु पाप होनी !!