काठमाडौ- सामाजिक सञ्जाल युट्युब मार्फत महिलाहरुको चरित्रहत्या गर्ने व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । युट्युव मार्फत विभिन्न तरिकाले पीडित महिलाका तस्बिर सहित चरित्रहत्या हुने खालका सामाग्रीहरु प्रसारण गर्ने युट्युबरहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर व्युरोले बुधबार एक विज्ञप्ति सार्वजनिक गरी युट्युबरहरु पक्राउ परेको जानकारी दिएको हो । व्यरोले विज्ञप्तिमा भनेको छ ।

विभिन्न युट्युब च्यानल संचालन गरी उत्तः च्यानलहरु मार्फत पीडित महिलाको तस्बिर सहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुर्याई नीजप्रति घृणा वा द्वेष फैलाउने सामाग्रीहरु प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकोले सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई तपशिलका युट्युब च्यानलहरुका संचालकहरुलाई मिति २०७८–०६–१३ गते पक्राउ गरी सम्मानित काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको ।

साइबर व्युरोले पक्राउ गरेका युट्युबरहरुमा दैनिक खबर नामक युट्युब चलाउने प्रदिप भण्डारी, हरेक पलको खबर नामक युट्युब चलाउने शिशिर अधिकारी, सारैचुली मिडिया नामक युट्युब चलाउने पिंकला कार्की र मोडर्न अनलाइन टिभी नामक युट्युब चलाउने रोधन तामाङ रहेका छन् ।

उनीहरुलाई म्याद थप गरेर अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख भए पनि कति दिन थपियो भन्ने चाहीं व्युरोले खुलाउन चाहेन । पछिल्लो समय व्यक्तिगत इगो नै लिएर व्यक्तिको चरित्रहत्या गर्ने गरी भ्रमपूर्ण सामाग्री बनाउनेहरुका विरुद्ध मुद्धा पर्ने क्रम बढेको छ । एउटा डिएसएलआर क्यामरा बोकेर अलि अलि प्रश्न सोध्न सक्नुलाई आफ्नो योग्यता ठान्ने त्यस्ता व्यक्तिहरुका विरुद्ध व्युरो, अदालत र प्रेस काउन्सिलमा समेत दैनिक उजुरी गर्नेहरु बढेका छन् ।

सञ्जिव रेग्मी अझै फरार-
यसरी व्यक्तिको विषयलाई भ्रम बनाएर प्रतिष्ठित व्यक्तिलाई नंग्याउने अभियानको गिरोह बनेका हेडलाइन नेपाल नामक युट्युबर सञ्जिव रेग्मीका विरुद्ध पनि दर्जनौं उजुरी परेका छन् । केही समय अगाडि सेवामा खटिएका प्रहरीमाथि समेत जाइ लागेर उक्त भिडियो समेत आफ्नो युट्युबमा राख्न सकेका रेग्मी आफैंलाई प्रहरी, प्रशासन, अदालत र न्यायाधीशकोभन्दा माथिको भूमिकामा प्रस्तुत हुने गर्दथे । समाजमा गलत काम गरेका व्यक्तिहरुलाई समेत चोख्याउन अर्काको चरित्रहत्या गरेर भिडियो दादागिरी गर्ने रेग्मीका विरुद्ध दर्जनौं उजुरी परेपछि हाल उनी फरार छन् ।

केही मुद्धामा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरले रेग्मीलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट अनुमति समेत लिई सकेको छ । रेग्मीले अदालतमा विचाराधिन रहेको एक मुद्धाका अभियुक्त कास्कीका रामकुमार खत्रीलाई समेत आफ्नो स्टुडियोमा बोलाएर अपराधकर्मको मिसिल नै सार्वजनिक गरेर उनलाई निर्दोष बनाउने प्रयास गरेका थिए । एक प्रतिष्ठित अधिकारकर्मीलाई खुल्याउन केन्द्रित रहेको उक्त अन्तरवार्ताबाट फैलाइएको भ्रमलाई पत्याएर हजारौंले अधिकारकर्मीलाई गाली गरेर कमेन्ट गरेका थिए ।

अधिकारकर्मीको सामाजिक प्रतिष्ठालाई धूलिसात बनाउन अधिकारकर्मीको धार्मिक अभियानका विरोधीहरुबाट परिचालित युट्युबरको आरोप लागेका रेग्मीले ती अधिकारकर्मीसँग सम्बन्धै नभएका र नाम निशानै नसुनिएका व्यक्तिहरुलाई स्टुडियोमा बोलाउँदै अन्तरवार्ता लिएका थिए । तर रेग्मीले त्यतिबेला चोख्याउन खोजेको रामकुमार खत्रीलाई काठमाडौं जिल्ला अदालतले दोशी ठहर गरिसकेको छ । पोखराकै एक महिलामाथि यौन हिंसाजन्य कृयाकलाप गरेको भन्दै साइबर व्युरोले दायर गरेको जाहेरीको फैशला गर्दै अदालतले खत्रीको कसुर ठहर गरेको छ । जिल्ला अदालतका न्यायाधीश भरतमणि खनालको एकल इजलासले खत्रीलाई सजाय निधारणको लागि पेश गर्ने आदेश दिएको छ ।

पोखराको एक दम्पत्तीको चरित्तहत्या गरेर समाजमा उनीहरुप्रति द्वेष फैलाउने गरी भिडियोहरु बनाएका रेग्मी निषेधाज्ञाकै समयमा त्यो दम्पत्तीको घरमै पुगेर भिडियोमा बोल्न जबरजस्ती गरेको भिडियो समेत सार्वजनिक भएको थियो । उक्त दम्पत्तीले प्रहरी बोलाएपछि आफूले नै प्रहरी लगेर उक्त दम्पत्तीलाई ठग करार गर्ने गरी भ्रमपूर्ण भिडियो मात्र उनले आफ्नो च्यानल मार्फत सार्वजनिक गरेका थिए । त्यति मात्र नभई हरि उदाशीबाट पीडित भएँ भन्दै युट्युबमै आएकी पञ्चमायाको बारेमा समेत उनले भ्रमपूर्ण र गैरजिम्मेवार भिडियो बनाएका थिए ।

पञ्चमायाको माइती परिवारले समेत उनी विरुद्ध रिट हालेको छ । यसरी आफू विरुद्ध उजुरी र जाहेरीका चाङ परेको थाहा पाएदेखि आफ्नो ९८५१०१५२८३ नम्बरको मोबाईल नै अफ गरेर फरार रहेका छन् । प्रहरीले उनको खोजी कार्यलाई तीब्र बनाएको छ । फेला पर्नासाथ पक्राउ गर्ने प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय